Listen LIVE

ट्रम्पले घोषणा गरे नयाँ आयात शुल्क, नेपाली सामानलाई १० प्रतिशत

काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा १ सय ८५ देश तथा क्षेत्रलाई निसाना बनाइएको छ । ट्रम्पको नयाँ घोषणालाई दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापार व्यवस्थाको सबैभन्दा ठूलो उथलपुथलका रूपमा हेरिएको छ । 

करिब ९० देशबाट हुने आयातमा अमेरिकाले जवाफी कर लगाउनेछ भने अन्य देशबाट हुने सबै आयातमा १० प्रतिशत कर लाग्नेछ । ट्रम्पका अनुसार अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनमाथि लगाएको भन्सार महसुलको करिब ५० प्रतिशत भन्सार महसुल लगाउनेछ ।

ट्रम्पले चीनमाथि ३४ प्रतिशत, भारतमाथि २६ प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत, जापानमाथि २४ प्रतिशत र युरोपेली संघमाथि २० प्रतिशत आयात शुल्क घोषणा गरेका हुन् । भियतनाममाथि ४६ र ताइवानमाथि ३२ प्रतिशत भन्सार महसुल घोषणा गरिएको छ । नेपाल भने १० प्रतिशत भन्सार शुल्क लाग्ने देशको सूचीमा परेको छ ।

राष्ट्रपति ट्रम्पको घोषणाअनुसार १० प्रतिशत शुल्क ५ अप्रिलदेखि र अन्य शुल्क ९ अप्रिलदेखि लागू हुनेछ । नयाँ कर घोषणालाई ट्रम्पले ‘मुक्ति दिवस’ को रूपमा ब्याख्या गर्दै ट्रम्पले अमेरिका र चीनदेखि युरोपेली संघसम्मका अन्य देशहरू बीचको व्यापार घाटा अन्त्य गर्न नयाँ कर नीति आवश्यक भएको बताए । ‘यो हाम्रो आर्थिक स्वतन्त्रताको घोषणा हो,’ ट्रम्पले भने ।

ट्रम्पले राष्ट्रिय आपत्काल घोषणा गर्दै अमेरिकालाई पाँच दशकदेखि निकट र टाढाका तथा मित्र र शत्रुहरूले समान रूपमा लुटेको दाबी गरेका छन् । ‘आज हामी अमेरिकी श्रमिकको पक्षमा उभिरहेका छौँ र अन्ततः अमेरिकालाई पहिलो स्थानमा राख्दैछौँ,’ ट्रम्पले भनेका छन् ।

प्रतिक्रिया