Listen LIVE

उपचारको खोजीमा नाबालक

सुर्खेत : आर्थिक अभावले सुर्खेतमा एक बालकको उपचारमा समस्या भएको छ । दैलेखको ठाँटीकाँध गाउँपालिका–३, विशाला घर भई हाल वीरेन्द्रनगर–४, कालागाउँ बस्ने हृदेशकुमार शाहीका डेढ वर्षीय छोरा नेसन शाहीको मृगौलामा समस्या आएपछि आर्थिक अभावले उपचारमा समस्या आएको हो । जन्मेको १५ दिनदेखि प्रोस्टेटको बिरामीले थलिएका बालकको अहिले मर्गौलामा समस्या आएपछि उपचारमा समस्या भएको हो ।

उनका ठुलो बुवा नरेन्द्र शाहीका अनुसार प्रोस्टेटकै कारण नेसनको एउटा मर्गौला ड्यामेज भइसकेको छ भने अर्कोमा सुन्निने समस्या देखा परेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका बालकलाई अस्पतालले भारतको नयाँ दिल्ली लैजान सुझाएको तर आर्थिक अभावका कारण लैजान नसकिएको शाहीले बताए ।

थप उपचारका लागि तीनदेखि चार लाख भारतीय रुपैयाँ लाग्ने भनेपछि समस्या भएको शाहीले बताए । प्रोस्टेटको उपचार गर्न भारतको लखनउदेखि काठमाडौँ पुर्याएर २० लाखभन्दा बढी खर्च गरेर निको भए पनि अहिले मृगौलामा आएको समस्याको उपचार गर्न सकस भएको भन्दै परिवारले दाता गुहारेका छन् ।

आर्थिक अवस्था कमजोर रहेका बालकका बुवा हृदेश दुई वर्षदेखि घरखेत बेचेर छोराको उपचार सम्भव नभएपछि अहिले मानसिक समस्यामा परेर भारतमा सम्पर्कविहीन रहेको परिवार स्रोतको भनाइ छ । बालकको उपचारमा सहयोग गर्न चाहने इच्छुक दाताले बालकका ठुलो बुवा नरेन्द्र शाहीको मोबाइल नम्बर ९८४३६५८०५५ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया