कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ का जगतबहादुर सिंहलाई यति बेला कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइ–नभ्याई छ ।
चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान्, श्रीमतीसहित परिवारका सदस्य कपडा बुन्न र सिलाउन व्यस्त देखिन्छन् । घरमै तान बनाएर सुरु गरिएको उद्योगमा धागो कात्ने, कपडा बुन्ने र पोसाकसमेत तयार गरिन्छ । पुख्र्यौली सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा अहिले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुने गर्दछन् ।
यसबाट सीपको सदुपयोग र परिवार नै स्वरोजगार भएकाले सिंह बताउँछन् । “हाम्रा पुर्खाले दार्चुलामा हुँदा राडी पाखीको काम गर्थे, हाम्रा पुर्खाबाट सिकेको सीपलाई सदुपयोग गर्न घरमै उद्योग स्थापना गरेका हौँ”, सिंहले भने, “रु तीन लाख लगानीमा हाते मेसिनबाट शुरु गरेको उद्योगमा अहिले रु २० लाख लगानी पुगिसक्यो ।” उनले अहिले चार वटा मोटर मेसिन थप गरेर उद्योगमा थप लगानी गरेको बताए ।
“एक जना भारतीय कामदार राखेका छौँ, दुई छोरा, श्रीमती र आफू पनि उद्योगमै काम गर्छौँ”, उनले भने, “यसबाट हाम्रो परिवारको खर्च चलेको छ, सन्तुष्ट छौँ ।” शुरुवातका वर्षहरूभन्दा पछिल्ला वर्षमा तयारी कपडाको माग धेरै आउने गरेको उनले बताए । सिंह परिवारको पुख्र्यौली पेशा नै कपडा बुन्ने हो । दार्चुलामा राडी पाखी बनाएर बिक्री गर्ने उनीहरू २०४४ सालमा तराई बसाइ सरे । त्यसपछि पुख्र्यौली पेशाले निरन्तरता पाउन नसके पनि ३५ वर्षपछि पारिवारिक सल्लाहपछि पुनः आफ्नो कामलाई शुरुवात गरेको उनको भनाइ छ ।
“सीप हुँदाहुँदै त्यतिकै बस्नुभन्दा उद्योग स्थापना गरौँ भन्ने एक दिनको पारिवारिक बसाइमा सल्लाह भयो”, सिंहले भने, “उद्योग स्थापनापछि हरेक वर्ष राम्रो आम्दानी हुँदै गएको छ, गत वर्ष मात्रै रु तीन लाख आम्दानी भयो ।” घरमै उद्योग स्थापना गर्दा कामदारको समस्या भोग्नु परेको उनी बताउँछन् । “अहिले पनि उद्योगमा कामदार पाउन मुस्किल छ, भारतीय कारिगर मात्रै छन”, उनले भने, “देशभित्र मेहनत गर्ने बानी छैन सबैमा विदेश मोह छ ।”
उनले आफूले स्वदेशमै कच्चा पदार्थ प्रशोधन गरेर धागो उत्पादन गर्ने गरेको बताए । केही कच्चा पदार्थ भने भारतबाट आयात गर्ने गरेको उनको भनाइ छ । कपडाभन्दा तयारी पोशाकको माग धेरै आउने गरेकाले अहिले तयारी पोशाक उत्पादनमा जोड दिएको सिंह बताउँछन् । “स्थानीय उत्पादन टिकाउ पनि हुन्छ स्वास्थ्यका लागि पनि फाइदाजनक छ”, सिंहले भने, “शुरुवातमा बजारमा समस्या थियो अहिले माग धेरै आउने गरेको छ ।”
प्राकृतिक फाइबरबाट निर्मित कपडा शरीरका लागि निकै फाइदाजनक मानिन्छ । यसको निर्माणका लागि अल्लो र गाँजाको धागो मात्रै उत्पादन हुने गर्दछ भने कटनका लागि भारतबाट धागो आयात गर्नुपर्ने झन्झट छ । त्यसैले यस्ता कच्चापदार्थ स्वदेशमै उत्पादन गर्न सके त्यसले घरेलु उद्योग सञ्चालनमा निकै टेवा पुग्ने उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार