Listen LIVE

डेढ करोडको लागतमा नरैनापुरमा विद्यालयको भवन बन्दै

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासका लागि नरैनापुर–२ मा एक करोड ६९ लाख ४५ हजारको लागतमा आर्दश माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरेको छ । 

आर्दश विद्यालयको निर्माणका लागि संघीय सरकारको विशेष अनुदान एक करोड १५ लाख, प्रदेश सरकारको समपूरक अनुदान ४० लाख र गाउँपालिकाको अनुदानमा आठ कोठे भवन र दुई वटा शौचालयको निर्माण भइरहेको पालिकाका लेखा अधिकृत भरत बस्नेतले बताए  ।

कक्षाकोठा अभावमा पठनपाठनमा समस्या थियो । तिनै तहको सरकारको सहयोगमा सुविधा सम्पन्न भवन निर्माण भए पछि विद्यार्थीहरूलाई सहज हुने शिक्षिका चन्द्रा केसीले बताइन् । उक्त विद्यालयमा हाल सात सय विद्यार्थी अध्ययनरत छन् । 

सङ्घीयता कार्यान्वयन भइसकेपछि दुर्गम मानिएको नरैनापुरले पनि शिक्षा क्षेत्रलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ । नजिकैका विद्यालय मर्ज गर्नेदेखि प्राविधिक शिक्षा दिलाउनेतर्फ ध्यान दिएको छ । नरैनापुर गाउँपालिकाका २४ वटा विद्यालयमा सिसि क्यामरा र डिजिटल हाजिरीको व्यवस्था गरिएको छ । 

स्थानीय सरकारले गुणस्तरीय शिक्षा आर्जनका लागि प्रविधिमैत्री विद्यालय निर्माण अभियानमा जुटेको जनाएको छ । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सिसि क्यामराले विद्यार्थी र शिक्षकको हरेक क्रियाकलाप निगरानी गर्दै आइरहेको बताए । उनले भने,‘डिजिटल हाजिरीले शिक्षक नियमित विद्यालय आउँछन् आउँदैनन् हेर्न सहज हुन्छ । 

शिक्षालाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने गरेको अध्यक्ष शाहको भनाई थियो । गाउँपालिका स्थित अन्तर विद्यालयमा अवलोकन गराएर नराम्रो कामको सुधार गर्न र राम्रो कामको अङ्गीकार गर्न प्रोत्साहित उनले जिकिर गरे । 

नरैनापुर गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण चौधरीले गुणस्तरीय शिक्षाका लागि सरोकारवाला पक्ष निकै चिन्तित भइरहेको सुनाए । सानै उमेरमा विवाह गर्ने र बालबालिकालाई मजदुरी गर्न पठाउने कार्यलाई निरुत्साहित गर्न जरुरी रहेको उनको भनाई थियो । गाउँपालिकामा गत आर्थिक वर्षमा नरैनापुर १ र नरैनापुर ६ मा गरी दुई वटा अत्याधुनिक भवनको निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरि सकेको बताउँदै चौधरीले नरैनापुर २ को आर्दश मावि, नरैनापुर १ कटकुईया नेराप्रविको भवन निर्माण भइरहेको जानकारी दिए । 

गाउँपालिकाका इन्जिनियर प्रविन श्रेष्ठका अनुसार आदर्शको भवन सिमाराम निर्माण सेवाले ठेक्का लिएर काम गरी रहेको छ । यस्तै कटकुइया नेराप्रविको ९५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी शुभा आरएस बिल्डर एण्ड सप्लार्यसले ठेक्का पाएको बताउँदै उनले यही आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम भई रहेको जानकारी दिए ।

प्रतिक्रिया