नेपालगञ्ज : भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई सोमवार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
भेरी अस्पतालको सेवा सुदृढीकरणको पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले, मोहित शाहसहित टेकबहादुर केसी सम्मिलित टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
लाखौं लगानीको सिटीस्क्यान मेशिन जडान भई बिगतमा सञ्चालन भएपनि हाल बन्द रहेको छ । जसले गर्दा यहाँ आउने बिरामीले अन्यत्र सिटीस्क्यान गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता तत्काल हटाउन सिटीस्क्यान मेशिनको नयाँ जडान वा मर्मतको काम तत्काल गर्न जोडदार गरिएको केन्द्रिय सदस्य मिश्रले बताए ।
उनका अनुसार, पश्चिमको प्रमुख सरकारी अस्पतालमा जम्मा दस शैया मात्रै आइसीयु सञ्चालन हुनु बिडम्बना हो । कोभिड–१९ को महामारी थेग्ने सामाथ्र्य राखेको अस्पतालले त्यतिबेलाका पुर्वाधार अहिले उपयोग गर्न सकिरहेको छैन । सोको लागि न्यूनतम दश शैया आईसियु चिकित्सक र अन्य स्वास्थ्यकर्मीको ब्यवस्थापनसहित तत्काल आइसीयु बिस्तार गर्न ध्यानाकर्षण गराइएको छ ।
कोभिड–१९ का समयमा अस्पतालको पुर्वाधारमा कायापलट गर्न मास्टर प्लान तयार भएको थियो । त्यसलाई कार्यान्वयन गर्न आवश्यक देखिएको हुँदा त्यसको कार्यान्वयनका लागि अस्पतालको तर्फबाट आवश्यक पहल गर्न र आगामी आर्थिक वर्षको बजेटमा रकम बिनियोजन गर्ने वातावरण तत्काल बनाउन माग गरिएको छ ।
भेरी जस्तो ठूलो अस्पतालमा बेग्लै प्रसुति गृह छैन । जसका कारण धेरै गर्भवती महिलाले सहज तरिकाले उपचार पाउन नसकेको गुनासो गर्द आएका छन् । त्यस्ता समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।
भेरी अस्पताल बिस्तार गर्दै बिशिस्टकृत सेवा, पूर्वाधारसंगै आवश्यक जनशक्तिका लागि स्थायी दरबन्दीको व्यवस्थापन र पदपूर्ति अपरिहार्य बनेको छ । सरकारले यसतर्फ ध्यानाकर्षण गराईएको मिश्रले बताए । उनका अनुसार, ध्यानाकर्षणपत्रलाई मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले सकारात्मकरुप लिएका छन् । अस्पतालले गर्न सक्ने काम भइरहेको उल्लेख गर्दै डा सुवेदीले माथिल्लो तहबाट हुने कामका लागि सबै पक्षले पहल गरि भेरी अस्पतालको सेवा सुदृढ बनाउन लाग्नुपर्नेमा जोड दिए ।
पश्चिम नेपाल (लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश)हजारौं विरामीको भरोसा हो–भेरी अस्पताल । शहरदेखि गाउँ । तराईदेखि विकट हिमालसम्मका विरामी नयाँ जीवन प्राप्तीको आशा र भरोसा बोकेर यस अस्पतालमा आउने गर्छन् । त्यसैले भेरी अस्पताल पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित छ ।
आफ्नो स्थापनाको १ सय ३३ बर्ष यो अस्पतालले लाखौंलाई नयाँ जीवन दिएको छ । अस्पताल स्वंयले बिभिन्न कालखण्डमा बिभिन्न आरोह अवरोह पार गरेको छ । सामान्य डिस्पेन्सरीकारुपमा स्थापना भएको अस्पतालले स्थापनाको १३४ वर्ष पुरा गर्दा देशको पश्चिम क्षेत्रसहित भारतका बिरामीलाई पनि सेवा दिन सक्षम भएको छ ।
निजि लगानीमा साना ठूला अस्पताल खुल्ने क्रममा बढेपनि जोकोही बिरामीका लागि भेरी अस्पताल पहिलो रोजाई बन्ने गर्छ । जसका कारण अस्पतालमा दैनिकी बिरामीको चाप अत्यधिक बढिरहेको छ । यस्तो परिस्थितिमा अस्पतालले नयाँ जीवन पाउने आशा र भरोसासहित आउने बिरामीलाई निरास बन्न दिनुहुँदैन ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएपनि पर्याप्त जनशक्ति र पुर्वाधारको व्यवस्था नहुँदा नागरिक निरास हुनुपर्ने अवस्था छ । त्यस्तो अवस्थाको अन्त्यका लागि उल्लेखित बिषयमा सम्बोधन गर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराइएको हो । साथै अस्पतालमा उल्लेखित बिषय सम्बोधन गराउनका लागि सरकारका सम्बन्धित निकायसंग जोडदार आवाज उठाउने भन्दै एमालेका केन्द्रिय सदस्य मिश्रले नेपालगञ्जसहित पश्चिम नेपालका नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषय हुँदा सरकारको ध्यानाकर्षण गराउँदै लैजाने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार