सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर–३, मा रहेको प्रशान्ति वृद्धाश्रमलाई नेपाली सेनाले निःशुल्क स्वास्थ्य जाँचसँगै खाद्यान्न सहयोग गरेको छ । शनिबार नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर तथा यसअन्तर्गतका युनिटबाट सङ्कलित खाद्य सामग्री राहतस्वरुप आश्रमलाई हस्तान्तरण गरिएको हो ।
उक्त सामग्री उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति उपरथी अनुपजङ थापा र सैनिक श्रीमती संघकी सल्लाहकार भावना राज्यलक्ष्मी थापाले अध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । खाद्य सामग्री हस्तारन्तरणपछि बोल्दै उपरथी थापाले ज्येष्ठ नागरिकको संरक्षण र सम्वद्र्धनमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले आश्रमलाई सहयोग गरेको बताए ।
हरेक सुखदुःखमा नेपाली सेना साथमा रहेको उल्लेख गर्दै उनले भविष्यमा पनि सहयोगलाई निरन्तरता दिने बताए । सेनाले खाद्य बैंक स्थापना गरी मानवलाई आश्रय दिइरहेका विभिन्न सामाजिक संस्थालाई प्रत्येक युनिटले एक व्यक्तिका लागि आवश्यक पर्ने खाद्य सामग्री व्यवस्थापन गरी हस्तान्तरण गर्दै आएको छ ।
सोही अनुरुप चामल, दाल, नुन, तेल, तरकारी, मसला, चियापत्ति, विस्कुट लगायतका खाद्य सामग्री आश्रमलाई हस्तान्तरण गरिएको थियो । यस्तै, सेनाले हरेक महिनाको अन्तिम शनिबार आश्रममा रहेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्ने कार्यतालिका अनुसार आश्रममा आश्रित २९ जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा औषधी वितरणसमेत गरेको छ ।
सेनाले गरेको स्वास्थ्य जाँचमा अधिकांशमा मानसिक समस्या, हाडजोर्नी दुख्ने लगायतका दीर्घ रोग देखा परेको छ । २०५४ सालमा स्थापना भएको आश्रमले विभिन्न कारणले समाज तथा परिवारबाट अलग भई कष्टकर जीवन बिताउन बाध्य २९ जना ज्येष्ठ नागरिकको पालन पोषणको काम गर्दै आएको छ ।
सन्तान नभएका, भएका पनि सम्पर्कमा नभएका, अंशवण्डाको मुद्दा तथा उमेरसँगै आउने शारीरिक अशक्तताले सिर्जित समस्याका कारण अधिकांश ज्येष्ठ नागरिक वृद्धाश्रमसम्म पुग्ने गरेको वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ बताउँछन् ।
घरपरिवारको साहारा नपाएपछि आश्रमको सम्पर्कमा आउने ज्येष्ठ नागरिकलाई परिवारसँगको परामर्शमा पुनः मिलन गराउने गरिएको उनले बताए । आश्रमको सञ्चालन तथा व्यवस्थापनमा सरकारको केही हदसम्म सहयोग भए पनि त्यो पर्याप्त भने छैन । यसमा राज्यका तीनै तहका सरकारले खासै ध्यान दिन सकेका छैनन् ।
आश्रम सञ्चालनका लागि एक करोड ३५ लाखको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषबाट प्राप्त हुने व्याज तथा विभिन्न सामाजिक संघसंस्थाको मुठ्ठीदानबाट आश्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
जसका लागि एक सय दुई जनाले अक्षयकोष स्थापना गरिदिएका छन् । यसका अलवा आश्रमले विभिन्न विद्यालयमा मुठ्ठी दान संकलनको अभियानमार्फत परिवारबाट विछोड भई कष्टकर जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार