Listen LIVE

कोहलपुरमा ४४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया

नेपालगञ्ज : तिलगङ्गा आँखा अस्पताल काठमाडौँका चिकित्सकको टोलीले बाँकेको कोहलपुरमा ४४२ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।  तीमध्ये अधिकांश विपन्न र आर्थिक अवस्था कमजोर रहेका वृद्धवृद्धा रहेको र यति धेरै जनाको शल्यक्रिया गरिएको पहिलो पटक भएको कोहलपुर नगरपालिकाले जनाएको छ । 

कोहलपुर नगरपालिकाको आयोजनामा विपन्न नागरिकका लागि कोहलपुरमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक टोलीले एक हजार छ सयभन्दा बढीको आँखा परीक्षण गर्दा ४४२ जनामा मोतीविन्दु र मासु पलाएको भेटिएकाले उनिहरूको शल्यक्रिया गरिएको कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए । 

शिविरमा डा. रुइतको नेतृत्वमा तिलगङ्गा आँखा अस्पताल काठमाडौँका २५ जना प्राविधिक र अन्य स्वास्थ्यकर्मीले आँखा परीक्षण गरेका थिए । डा. रुइतले तीन दिनमा ४४२ जना वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेका थिए । 

नगरपालिकामा यति धेरै जनाका आँखामा मोतीविन्दु रहेको पाइएको र उनीहरूले एकै पटक राम्रो उपचार पाएकोमा तिलगङ्गा आँखा अस्पतालप्रति नगरप्रमुख आचार्यले आभार व्यक्त गर्दै सो आँखा अस्पतालसँगको सहकार्यलाई निरन्तरता दिने बताए । अहिले सञ्चालन गरिएको शिविरमा छुटेका आँखारोगीका लागि छ महिनापछि पुनः नगर अस्पतालमा शिविर सञ्चालन गरिने कोहलपुर नगरपालिकाले जनाएको छ । 

नगरपालिकाभित्र रहेका एक हजार छ सय जनाको आँखाको परीक्षण गरिएकोमा शल्यक्रिया गर्नुपर्ने बिरामीको पहिचान गरेर यति धेरै जनाको शल्यक्रिया गरिएको यहाँ पहिलो पटक भएको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले बताए । 

तिलगङ्गा अस्पतालसँग अनुरोध गरेर सम्झौता गरी विपन्न र आर्थिक अवस्था कमजोर भएकालगायतलाई आँखाको विशेषज्ञ उपचार सेवा दिन सफल भएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माले बताए ।

प्रतिक्रिया