Listen LIVE

बाँकेका पत्रकारको निःशुल्क मुटु जाँच

नेपालगञ्ज : बाँकेमा क्रियाशील पत्रकारहरुको शुक्रबार निःशुल्क मुटु जाँच गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व सभापति स्व. पन्नलाल गुप्ताको ९७ औं जन्मजयन्तीको अवसर पारेर नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा भएको पत्रकारका लागि निःशुल्क मुटु जाँच शिविरमा करिब सयजना पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ । 

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीका अनुसार दिनरात रिपोर्टिङमा खटिने पत्रकारको स्वास्थ्यलाई मध्यनजर गर्दै भेरी अस्पतालसँग सहकार्य गरी शिविर सञ्चालन गरिएको हो । शिविरमा भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. कृष्ण अधिकारी, डा. विकास नेपाल, डा. विपिन आचार्यसहितका स्वास्थ्यकर्मीले पत्रकारहरुको स्वास्थ्य परीक्षण गरेका थिए । 

शिविरमा सहभागी पत्रकारका लागि रक्तचापसहित, मधुमेह, कोलेस्टोलसँगै इसिजी गरिएको छ । सो परीक्षणको आधारमा स्वास्थ्य अवस्थाअनुसार इकोलगायतका अन्य परीक्षण र उपचार गरिने महासङ्घका सचिव कृष्ण ओलीले जानकारी दिए । 

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरु निरज गौतम, झलक गैरे, शुक्रऋषि चौलागाई, कृष्णअधिकारी लगायतका अग्रज पत्रकारले निःशुल्क स्वास्थ्य शिविरबाट सधै व्यस्त रहने सञ्चारकर्मीले लाभ लिन सकेको बताए ।

प्रतिक्रिया