Listen LIVE

बाँकेमा साढे आठ हजार किशोरीलाई एचपीभी खोप लगाइने

नेपालगञ्ज : बाँके जिल्लामा माघ २५ गतेदेखि सञ्चालन गरिने पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान अन्तर्गत यस वर्ष आठ हजार ५८४ जना किशोरीलाई एचपिभी खोप लगाइने छ । 

स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले राष्ट्रिय खोप अभियान अन्तर्गत जिल्लामा सञ्चालन हुन लागेको एचपिभी खोप अभियान अन्तर्गत आठ हजार ५८४ जना किशोरीलाई खोप लगाइने बताए ।

उनले त्यसका लागि जिल्लामा आठ हजार ६७० डोज खोप आइपुगेको जानकारी  दिए । कोहलपुर नगरपालिकाले जनप्रतिनिधि र स्वास्थ्य संस्थाको प्रमुखलाई एचपिभी खोप अभियानबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले सो जानकारी दिएका हुन् । 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुरमा एक हजार सात सय, नेपालगञ्जमा दुई हजार चार सय चार, राप्तीसोनारीमा ७२०, वैजनाथमा ८८०, नरैनापुरमा ७२१, जानकीमा ६७३, खजुरामा एक हजार १९ र डुडुवा गाउँपालिकामा चार सय ४१ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको छ ।

बाँकेमा माघ २५ गतेदेखि खोप अभियान सुरु गरिए पनि कोहलपुरमा भने २६ गतेदेखि खोप अभियान सञ्चालनको तयारी गरिएको कोहलपुर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अमृता रानाले बताइन् । 

विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी, विद्यालय बाहिरका १० वर्षका किशोरी र अघिल्लो वर्षको खोप अभियानमा छुटेका ७ देखि १० कक्षामा अध्ययनरत र विद्यालय बाहिरका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

किशोरीको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई सफल पार्न कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विकले बताए ।

उनले लक्षित समूहका सबै किशोरीले अनिवार्य रूपमा खोप लगाउनुपर्ने भएकाले तोकिएको समयमा खोप नछुटाउन अभिभावक र विद्यालयलाई विशेष ध्यान दिन आग्रह गरे । एक डोज एचपिभी खोपको मूल्य आठ हजार रुपैयाँभन्दा बढी पर्ने भएकाले राज्यले निःशुल्करुपमा उपलब्ध गराएको यो अवसरको महत्त्व निकै ठूलो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

समयमै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रुपमा घट्ने भएकाले अभिभावक, विद्यालय र समुदायलाई अभियानमा सक्रिय सहयोग गर्न पनि सो कार्यालयले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया