Listen LIVE

भेरी लिफ्टिङ आयोजनालाई प्रदेशले दियो बजेट

सुर्खेत : भेरी लिफ्टिङ आयोजना अघि बढाउन प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजनालाई सहयोग गर्न लागेको हो । अघिल्ला दुई आवमा समेत प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको थियो । बजेट कार्यान्वयनमा जान सकेको थिएन ।

चालु आवमा आयोजनाको ठेक्का सम्झौता भई काम अघि बढेकाले बजेट कार्यान्वयन हुने छ । कर्णालीवासीको आधारभूत खानेपानीको पहुँच सुनिश्चित गरी स्वच्छ, नियमित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने नीतिबमोजिम प्रदेश सरकारले ठुला खानेपानी आयोजना निर्माणमा सहयोग गर्दै आएको छ । 

खानेपानीका बहुवर्षीय र क्रमागत आयोजनालाई प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ । सोही उद्देश्यबमोजिम भेरी लिफ्टिङ आयोजनालाई अघि बढाउन बजेट विनियोजन गरिएको छ । चालु आवमा उक्त योजनाको कार्यान्वयनका लागि तीन करोड ५० लाख बजेट विनियोजन गरिएको हो ।

सरकारले ससाना आयोजनाभन्दा ठुला आयोजनालाई प्राथमिकतामा राखेको हो । सरकारले अर्को ठुलो खानेपानी आयोजनाका लागि पनि बजेट विनियोजन गरेको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त आयोजनालाई अघि बढाउन लागेको हो । 

सल्यानको शारदा बृहत् खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन गरेको छ । चालु आवमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । यो वर्ष ठुला खानेपानीका योजनालाई प्राथमिकतामा राखिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले बताइन् । भेरी लिफ्टिङ जस्ता आयोजना अघि बढाउन सरकारले जोड दिएको छ ।

प्रतिक्रिया