नेपालगञ्ज : एक साता अघि काठमाडौँमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोलीकी सदस्य पूजा रानालाई गृहजिल्लामा सम्मान गरिएको छ ।
पूजालाई बाँकेको कोहलपुर नगरपालिकाले मङ्गलबार ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य कोहलपुर निवासी पूजाले नेपाललाई फाइनलसम्मको यात्रा तय गर्नमा महत्वपुर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
राष्ट्रिय टोलीमा पूजाले गरेको योगदानको उच्च मुल्याकन गर्दै सम्मान गरिएको कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए । कोहलपुरकी चेलीले अन्तराष्ट्रियस्तरको प्रतियोगितामा देशकै लागि महत्वपूर्ण योगदान गर्ने खेलाडीलाई सम्मान गर्न पाउँदा खुशी लागेको नगरप्रमुख आचार्यले बताए ।
आचार्यले स्थानीयस्तरमा खेलाडीहरुको उत्पादनमा पछिल्लो समय कोहलपुर नगपालिकाले विद्यालयस्तरका खेल, कोहलपुर गोल्ड कप, वडास्तरीय फुटबल, क्रिकेट र भलिबल जस्ता खेलहरु आयोजना गरिरहेको बताए ।
नगरप्रमुख आचार्यले खेलाडीहरुको आत्मबल र उनीहरुको क्षमताको सम्मान गर्दै भावी दिनमा यसरी नै खेलाडीहरुको सम्मान गरिने उल्लेख गरे । कोहलपुर नगर उपप्रमुख सङ्गीता सुवेदी पौडेलले कोहलपुरको चेलीलाई यसरी सम्मान गर्न पाउनु गर्वको कुरा भएको बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार