नेपालगञ्ज : बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९, मा स्थानीय कुखुरापालन व्यवसायका लागि युवतीहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजनाअन्तर्गत सो सहयोग बितरण गरिएको हो ।
३९० घण्टा स्थानीय कुखुरापालन सम्बन्धी व्यावसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ठाकुरबाबाका १६ जना युवतीहरूलाई उक्त सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले बताए ।
उहाँका अनुसार कुखुरा पालन व्यवसाय तालिममा सहभागी प्रत्येक युवतीलाई नगद भौचर सहायता मार्फत २३ हजार ७३० रुपैयाँ बराबरको सामग्री वितरण गरिएको थियो।
स्थानीय जातका कुखुरा पालनका लागि युवतीहुरुलाई स्थानीय कुखुराको चल्ला, फिडर, ड्रिंङ्गकर, डिजिटल तौल मेसिन, एप्रोन, पँजा, दाना, ब्रुडर, कुखुरे जाली, जस्तापाता, थर्मामिटर, त्रिपाल, गम्बुट, चुनालगायतका सामग्री निःशुल्क उपलव्ध गराइएको थियोे ।
सो कार्यक्रमको मुख्य उद्देश्य युवतीहरूलाई हरित उद्यम स्थापना र सञ्चालनमा सहयोग पुरयाउने, स्वरोजगार तथा आर्थिक स्वतन्त्रताको मार्गद्वारा असमानता, हिंसा र बालविवाह न्यूनीकरणमा योगदान पुर्याउने रहेको छ।
सहयोग वितरण कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा विशेष अतिथिका रूपमा ठाकुरबाबा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अमिन थारु र वडा नं. २ का वडा अध्यक्ष कमल प्रसाद चापाइ सहभागी थिए।
अन्य विशिष्ट अतिथिहरूमाक्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, वरिष्ठ सल्लाहकार तथा पत्रकार नीरज कुमार गौतम, सल्लाहकार तथा पत्रकार कमल पन्थी लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष अमिन थारुले युवतीहरूलाई आत्मनिर्भर र सम्मानजनक जीवन निर्माणका लागि प्राप्त सीप र अवसरको अधिकतम उपयोग गर्न आग्रह गरे। उनले ठाकुरबाबा नगरपालिकाका युवाहरूलाई स्वरोजगारमा प्रोत्साहित गर्न बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा गरिएको प्रयासको प्रशंसा गर्दै यसले वैदेशिक रोजगारीका लागि हुने युवा पलायन न्यूनीकरणमा सहयोग गर्ने धारणा व्यक्त गरे।
साथै, तालिममा सिकेका सीप र प्राप्त सहयोगको सदुपयोग गर्न पनि सहभागीहरूलाई उनले अनुरोध गरे।
कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष तुलाधरले सहभागी युवतीहरूलाई प्राप्त सहयोगको अधिकतम उपयोग गर्न अनुरोध गर्दै भविष्यमा पनि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “यो अवसरको अधिकतम उपयोग गर्नुहोस्। हाम्रो संस्था सधैं तपाईंहरूको साथमा रहनेछ।”
कार्यक्रममा परियोजना प्रमुख राधे कृष्ण थारुले परियोजनाको उद्देश्य, गतिविधि र यस सहयोगको महत्वका बारेमा जानकारी दिएका थिए भने कार्यक्रम व्यवस्थापनमा फिल्ड सुपरभाइजर कञ्चन दहितले सहयोग गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार