Listen LIVE

बाँकेस्थित राप्ती तटबन्धको स्थलगत निरीक्षण

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित खल्ला झगडियामा निर्माणाधीन स्थायी तटबन्धको बाँकेका प्रमुख जिल्ला अधिकारीसहित उच्च अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरेको छ।

जनताको तटबन्ध आयोजना कार्यालय, लमहीका उच्च अधिकारी, प्राविधिक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीलगायतको टोलीले तटबन्ध निर्माणस्थलको निरीक्षण गरेको जनताको तटबन्ध आयोजना कार्यालय, लमहीका प्रमुख निश्चल छतकुलीले जानकारी दिए।

उनका अनुसार वर्षायाम सुरु भई बाढी आउने समयअघि नै स्थायी तटबन्ध निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। निरीक्षणका क्रममा उच्च अधिकारीहरूले निर्माण कार्यको प्रगति समीक्षा गर्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि उक्त क्षेत्रमा कटान र डुबानको समस्या बढेको थियो। त्यसपछि स्थानीयवासीले स्थायी तटबन्ध निर्माणको माग गर्दै आएका थिए। गत वर्ष कटान नियन्त्रणका लागि बाँस र बालुवाका बोराको सहायताले अस्थायी तटबन्ध निर्माण गरिएको थियो।

निर्माणस्थल पुग्नुभएका प्रमुख जिल्ला अधिकारी तामाङले वर्षा र बाढीको जोखिम शुरु हुनुअघि नै तटबन्ध निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए।

उनले निर्माण कम्पनी साईमा दुर्गा जेभीका प्रतिनिधि राजबहादुर शाहीले वर्षाअघि नै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

निरीक्षणका क्रममा जनताको तटबन्ध आयोजना कार्यालय, लमहीका प्रमुख छतकुली र निर्माण कम्पनीका प्रतिनिधि शाहीले निर्माण कार्यको प्रगतिबारे विस्तृत जानकारी गराएका थिए।

आगामी असोजसम्म ५०० मिटर लामो तटबन्ध निर्माण सम्पन्न गर्ने लक्ष्यसहित साइमा दुर्गा जेभीले करिब पाँच करोड रुपैयाँ लागतमा गत वर्ष ठेक्का सम्झौता गरेको थियो।

प्रतिक्रिया