Listen LIVE

नेपालगञ्जमा क्रिकेट रङ्गशाला निर्माण सुनिश्चित

नेपालगञ्ज : बाँकेको नेपालगन्जमा आगामी आर्थिक वर्षमा अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माण शुरु हुने भएको छ। बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले क्रिकेटको हबका रूपमा परिचित नेपालगन्जमा रङ्गशाला निर्माण सुनिश्चित भएको बताए।

पूर्वमन्त्रीसमेत रहेका सांसद राईले भने, 'नेपालगञ्ज रङ्गशालाको काम यही आर्थिक वर्षमा कार्यान्वयन हुन्छ।'

नेपालगञ्जमा लामो समयदेखि सुविधा सम्पन्न क्रिकेट रङ्गशालाको माग हुँदै आएको सन्दर्भमा सांसद राईले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी आगामी बजेटमा समावेश गर्न पहल गरेका हुन्।

नेपालगञ्ज उपमहानगरपालिकाले करिब १४ करोड रुपैयाँ लागत अनुमानसहित क्रिकेट रङ्गशाला निर्माणका लागि पहल गर्न सांसद राईमार्फत अनुरोध गरेको थियो।

सांसद राईले नेपालगञ्जवासीको माग आगामी आर्थिक वर्षको बजेटमा समावेश भएको भन्दै रङ्गशाला निर्माणको काम शुरु हुने बताए। उनका अनुसार सरकारले आगामी बजेटमा परियोजना समेटिसकेको भएकाले निर्माण सुनिश्चित भएको छ। समयमै बजेट प्राप्त भएमा डेढ वर्षभित्र रङ्गशाला निर्माण सम्पन्न हुने अनुमान गरिएको छ।

नेपालगञ्जमा हाल क्रिकेट रङ्गशाला नहुँदा गणेशपुर, विशालनगरलगायत स्थानका खुला मैदान तथा खेतमै विभिन्न स्तरका क्रिकेट प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ।

प्रतिक्रिया