Listen LIVE

नदीजन्य पदार्थ उत्खनन गर्ने सात ट्याक्टर कारबाहीमा

दाङ : दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार–पसारमा संलग्न सात ट्याक्टर नियन्त्रणमा लिई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ढुङ्गा, बालुवा र गिट्टी अवैधरूपमा ढुवानी गरिरहेका सात वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए ।  

असार १ गतेदेखि ५ गतेसम्म जिल्लाका विभिन्न स्थानमा निगरानी तथा अनुगमनका क्रममा उक्त ट्याक्टर नियन्त्रणमा लिइ कारबाही गरेको उनले बताए । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ । कारबाहीपछि ती ट्याक्टरमाथि कुल एक लाख ४५ हजार ८०९ रुपियाँ जरिवाना गरिएको सूचना अधिकारी डा. केसीले जानकारी दिए । 

जरिवाना रकम असुल गरी कानुनी प्रक्रिया पूरा भएपछि सवारी साधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

प्रतिक्रिया