Listen LIVE

दुना–टपरी बनाएर आत्मनिर्भर बन्दै महिला

कैलाली : यहाँको धनगढी उपमहानगरपालिका–७, देवरीयाका पाँच जनाको महिला समूहले दुना–टपरी बनाएर आत्मनिर्भर बनेका छन् । स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुना टपरी उद्योग’ सञ्चालन गर्दैआएका छन् ।

उनीहरूले सुरुमा वडा कार्यालयबाट दुनाटपरी बनाउने तालिम लिएका थिए । वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले सो समूहलाई दुनाटपरी बनाउने दुई वटा मेसिन निःशुल्क उपलब्ध गराएको छ । मेसिनको प्रयोगले दुनाटपरी उत्पादन गर्न अझै सहज भएको छ । दुनाटपरी उद्योग सञ्चालकमध्येकी सीता चौधरीले वडाबाट प्राप्त दुनाटपरी बनाउने तालिमबाट आफूहरु आत्मनिर्भर बनेको बताइन् । उनले भनिन, “यसभन्दा पहिले हामी घरको काममा मात्र सीमित थियौँ । जब दुनाटपरी बनाउने तालिम लियौँ, त्यसपछि कमाइ राम्रै छ ।”

दिनमा एक हजार दुना र ३०० जति टपरी उत्पादन गर्दैआएको उनले बताइन् । जसबाट मासिक ३० हजार जतिको कारोबार हुनेगरेको छ । दुना सानो साइजको ७० पैसा, एक नम्बरको ८०, दुई नम्बरको एक, तीन नम्बरको डेढ रुपैयाँ र टपरी साढे तीनमा बिक्री गर्ने गरेको उनले बताइन् ।

दुनाटपरी बिक्री गरी प्राप्त पैसा समूहमा जम्मा गर्ने गरेको अर्की सञ्चालक कमला चौधरीले बताइन् । यसरी समूहमा जम्मा गरेको पैसाले आपतविपद्, गाह्रो, अप्ठ्यारो तथा घरायसी समस्या आइपरेको खण्डमा ठुलो समस्या टर्ने गरेको उनको भनाइ छ ।

दुनाटपरी कारोबारबाट दुई वर्ष यता समूहमा बचत गरेको ६० हजारका दरले एक जनाको भाग परेको उनले बताइन् । “सुरुमा कामको खोजीमा थियौँ, के गर्ने, कसो गर्ने भन्ने अन्यौलमा थियौँ” उनले भनिन, “जब वडाबाट तालिम लियौँ आफ्नो हातमा सीप भइसकेपछि हिजोआज ढुक्कले घर खर्च चलिरहेको छ ।” सुरु सुरुमा दुनाटपरी बिक्रीका लागि समस्या हुने गरे तापनि हिजोआज समस्या नभएको समूहकी सविता चौधरीले बताइन् ।

प्रतिक्रिया