सल्यान : सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोले दुई जनाको मृत्यु भएको छ । स्क्रव टाइफसबाट बागचौर नगरपालिका–१ कालाखेतका गजेन्द्र केसी र उच्च ज्वरोका कारण दार्मा गाउँपालिका ३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको मृत्यु भएको हो ।
दुवैको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।
केसीलाई गाउँघरमै औषधि सेवनपछि पनि उच्च ज्वरो नरोकिएको र श्वासप्रश्वासमा थप समस्या भएपछि सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारका लागि आफन्तले ल्याएका थिए । लक्षण अनुसार तत्काल स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाइफस देखिएको थियो ।
स्वास्थ्य जाँचका क्रममा केसीको स्वास्थ्यमा बढी समस्या देखिएपछि नेपालगञ्ज रेफर गरिएको र नेपालगञ्जमै केसीको मृत्यु भएको बुढाले बताए ।
डा. बुढाका अनुसार जिल्लामा स्क्रव टाइफसका बिरामी बढिरहेका छन् । चालु आर्थिक वर्षको साउन देखि हालसम्म ७७ जना संक्रमित भएका छन् । उनले भने ‘७७ जना मध्ये ८ जनामा बिरामी जटिल रहेका छन् । ती ८ मध्ये २ जनालाई थप उपचारका लागि रिफर गरिएको र रिफर गरिएका दुई जनामा १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । अन्य भने ठिक भएर घर फर्की सकेका छन् ।’
रोग पहिचान नगरी ज्वरोको जथाभाबी औषधि सेवन गर्दा बिरामीको ज्यान जोखिममा पर्दै आएको डा. बुढाले जानकारी गराए । लगातार केही दिनदेखि उच्च ज्वरो आउने, शरीर दुख्ने लगायतका समस्या देखिएमा जिल्ला अस्पताल सल्यान आएर रगत परीक्षणका साथै उपचार गर्न उनले जिल्लावासीलाई आग्रह गरे ।
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाईबाट मानिसमा सर्ने गर्दछ । यो धेरै जसो झाडी, खेतबारी, वनजंगल, घर वरपरको झाडीमा देखिने हुनाले खेतबारीमा काम गर्दा वन जङ्गल वा झाडीमा काम गर्दा पुरा शरीर ढाकिने कपडा लगाउने, घाँस बारी वा चरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने गर्नु पर्ने स्वास्थ्यकर्मीको भनाई छ । धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि कालो दाग बस्नु जस्ता लक्षण देखिने स्वास्थ्यकर्मी बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार