Listen LIVE

नेपालगञ्ज नाकाबाट २९ करोड बढीको प्लाइउड भारत निर्यात

नेपालगञ्ज : गत केही वर्ष यता नेपालगञ्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । 

नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढ्दै गएपछि निर्यात पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०८०–८१ मा नेपालगञ्ज नाकाबाट २९ करोड ९३ लाख भन्दा बढीको प्लाइउड भारत निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

सो कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९–८० मा यो नाकाबाट १४ करोड १२ लाख ५४ हजार रुपैयाँको मात्र प्लाइउड निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १६ करोड रुपैयाँ बढीको प्लाइउड भारत निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले बताए ।

उनले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा नेपालगञ्ज नाकाबाट १४ करोड १२ लाख ५४ हजार रुपैयाँको प्लाइउड निकासी भएकोमा गत आर्थिक वर्ष २०८०–८१ मा दोब्बर बढी २९ करोड ९३ लाख ६१ हजार रुपैयाँको निर्यात भएको बताए । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १५ करोड ८१ लाख ७ हजार रुपियाँ बढीको प्लाइउड निर्यात भएको छ । निर्यात दोब्बर वृद्धि भएपछि नेपालगन्जका प्लाइउड व्यवसायी उत्साहित छन् । खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्त रहेको उद्योगी व्यवसायीले बताएका छन् ।  

भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको बाँकेमा प्लाइउड उत्पादन गर्दै आएका उद्योगी पशुपति दयाल मिश्रले बताए । 

उनले नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतको लखनउ, कानपुर, दिल्ली, आगरा, देहरादुन लगायतका बजारसम्म हुनेगरेको बताए । नेपालगञ्जका अर्का प्लाइउड उद्योगी चम्पालाल बोथराले भारतमा नेपाली प्लाइउडको माग बढ्दै गएपछि आफूहरू निकै उत्साहित भएको बताए ।

प्रतिक्रिया