नेपालगञ्ज : मानव सेवा आश्रमको भवनको बाँकेमा शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कमार अग्रवालले आज विहान भवनको शिलान्यास गरेका हुन् ।
सहयोगापेक्षी, असक्त, असहाय, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर, सडक आश्रित मानवहरुको आश्रयस्थल मानव सेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) लुम्बिनी प्रदेश बाँके शाखाको भवनको शिलान्यास गरिएको हो । डुडुवा गाउँपालिका वडा नं. ६ असमानपुरमा पाँच करोडको लागतमा अत्याधुनिक दुई तले आश्रय भवन निर्माण हुन लागेको हो ।
जयन्दु बाल सुधार गृहका लागि चार विघाः १२ कठ्ठा जग्गा दान दिइसकेका दानवीर जयकेश सिंहले मानव सेवा आश्रमका लागि दुई वर्षअघि १० कठ्ठा जग्गा दान गरेपछि सो क्षेत्रफलमा आश्रम बन्न लागेको हो ।
मन्त्री अग्रवालले मानवीय सहयोगार्थ निर्मित आश्रय भवनका लागि प्रदेश सरकार सहयोग गर्न प्रतिवद्ध रहेको विश्वास दिलाए । मन्त्री अग्रवालले मानव सेवा आश्रमको सेवा कार्य उत्कृष्ट रहेको भन्दै भवन निर्माण कार्य अघि बढाइए सहयोगी हातहरु पनि जुट्दै जाने विश्वास व्यक्त गरे ।
शिलान्यास समारोहमा जग्गादाता जयकेश सिंहले दान दिएर आफुले खुशी र पुण्य कमाएको महशुस भइरहेको भन्दै सबैमा सहयोगको अपील गरे । आश्रम अभिभावक परिवारकी सहसंयोजक एवं नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख उमा थापामगर, मानव सेवा आश्रम भैतिक विकास प्रवद्र्धन समितिका संयोजक विष्णु मैनाली, प्रवद्र्धन परिवारका सदस्य कृष्णप्रसाद श्रेष्ठ, डुडुवा वडा नं. ६ का वडाअध्यक्ष मोहनराम मिश्र, फत्तेबाल आँखा अस्पतालका प्रवन्ध निर्देशक डा. कौशलकुमार बर्मा, दाता समाजसेवी सुशिला शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अब बन्ने अत्याधुनिक भवनमा करिव सय जनालाई आश्रय दिन सकिने आश्रम शाखा प्रमुख उर्विन सापकोटाले जानकारी दिए । आश्रमका महासचिव सुशिला केसीद्धारा सञ्चालित शिलान्यास कार्यक्रममा विशिष्ट व्यक्तित्व, दाता, समाजसेवीको उपस्थिती रहेको थियो ।
मानवता प्रवद्र्धन महाअभियानअन्तर्गत २०८२ सालमा देशभरबाट मानवमुक्त सडक घोषणा गरिनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार