नेपालगञ्ज : मुस्लिम समुदायको मोहर्रम पर्व विविध कार्यक्रमका साथ बाँकेमा मनाइँदैछ । इस्लामी नयाँ बर्ष १४४८ हिजरीको शुरुवातसँगै मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विविध कार्यक्रमहरु गरी मनाइन्छ ।
सोहीक्रममा नेपालगञ्ज र सो आसपासको क्षेत्रमा दैनिक रातिको समयमा विभिन्न कार्यक्रमहरु जुलुस, जल्सा तथा फातिहा गरेर गत आठ दिनदेखि मोहर्रमलाई मनाइँदै आएको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईले बताए ।
उनले इराकको कर्बलामा शहिद भएका पैगम्बर हजरत मोहम्मदका नातीहरु हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरुले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउने गर्छन् ।
मोहर्रम महिनाको १ तारिखदेखि १० तारिखसम्म विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा छ । सोहीक्रममा मोहर्रमको ५ तारिखमा ढोल मिलान, ६ तारीखमा राति मेहंदी जुलुस, ७ तारिखमा अलम जुलुस र ८ तारिखमा आगोको मातम र जन्जीरको मातम गरिएको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले जनाएको छ ।
नौ तारिखमा गएराति कागज र काठले निर्माण गरिएको ताजियालाई आफ्नो घर अगाडि स्थापित गरेर समुदाय रातभरी जाग्राम बसेका थिए । मोहर्रमको अन्तिम दिन दस तारिखमा आज दिउँसोपछि बाँकेका विभिन्न ठाउँमा रहेको कर्बलामा बाजागाजासहित ताजिया विसर्जन गरेर सो पर्व सम्पन्न गरिनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार