नेपालगञ्ज : बाँके जिल्लामा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको पछिल्लो पाँच महिनाको तथ्यांकअनुसार जिल्लामा भएका अधिकांश दुर्घटना तीव्र गतिका कारण भएका हुन् ।
प्रहरीका अनुसार मंसिरदेखि चैत्रसम्मको अवधिमा बाँकेमा कुल ३ सय ५० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ सय ३६ वटा सवारीसाधन संलग्न रहेका छन् । दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका छन् भने ४ सय ८० जना घाइते भएका छन् ।
तथ्यांकले देखाएअनुसार दुर्घटनाका कारणमध्ये सबैभन्दा बढी २ सय २६ वटा दुर्घटना तीव्र गतिका कारण भएका छन् । यस्तै चालकको लापरवाहीका कारण ४८ वटा दुर्घटना भएको प्रहरीको भनाइ छ । अन्य दुर्घटनाका कारणमा सडकको अवस्था, मौसम, मादक पदार्थ सेवन, ओभरटेक तथा यान्त्रिक गडबडीसमेत रहेका छन् ।
महिनागत विवरण हेर्दा मंसिर महिनामा १ सय १ दुर्घटना भएका छन् । त्यसपछि पुसमा १ सय ११ दुर्घटना, माघमा ६९, फागुनमा ३३ र चैत्रमा ३६ दुर्घटना भएका छन् । पछिल्ला तीन महिनामा दुर्घटनाको संख्या उल्लेख्य रूपमा घटेको देखिएको छ ।
दुर्घटनामा संलग्न सवारीसाधनको संख्या पनि उल्लेखनीय रहेको छ । मंसिरमा १ सय ५५, पुसमा १ सय ७७, माघमा १ सय २, फागुनमा ४८ र चैत्रमा ५४ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।
मृत्यु हुनेको संख्या हेर्दा मंसिरमा ४ जना, पुसमा ६ जना, माघमा ६ जना, फागुनमा ४ जना र चैत्रमा ७ जनाको मृत्यु भएको छ । चैत्र महिनामा दुर्घटनाको संख्या कम भए पनि मृत्यु हुनेको संख्या सबैभन्दा बढी देखिएको छ ।
त्यस्तै घाइते हुनेको संख्या मंसिरमा १ सय ४२ जना, पुसमा १ सय ६० जना, माघमा ८८ जना, फागुनमा ४६ जना र चैत्रमा ४४ जना रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार