नेपालगञ्ज : पश्चिम नेपालका २४ जिल्लाका बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गरिने भएको छ । सो सेवा शुरु गर्नका लागि सहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुर र भेरी अस्पताल नेपालगञ्जबिच सोमवार नेपालगन्जमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा सम्झौता भएको छ ।
सहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबिच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएर पत्र आदानप्रदान गरिएको हो ।
सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने सरकारको योजना रहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले सोही अनुसार भेरी अस्पतालमा पनि शुरु गर्न लागिएको बताए । यो सेवा यहाँ शुरु गरिएपछि यस क्षेत्रका मृगौलाका बिरामी र अन्य बिरामीले पनि ठुलो राहात पाउने उनले बताए ।
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा सञ्चालनका लागि धर्मभक्त प्रत्यारोपण केन्द्रले जनशक्तिदेखि प्राविधिक सहयोग गर्ने प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठले बताए । सकेसम्म एक महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा भेरीबाट दिन सकिने उनले जनाए ।
निर्देशक श्रेष्ठले मिर्गौला प्रत्यारोपण सेवा विस्तारका लागि भेरी अस्पतालमा जनशक्ति रहेको र अभाव भएका जनशक्तिहरु धर्मभक्त प्रत्यारोपण केन्द्रले काजमा व्यवस्थापन गरिसकेको जानकारी दिए । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डन्ट डा. निराजन सुवेदीले भेरी अस्पतालमा विशिष्टिकृत सेवा विस्तार गर्दै लैजानेक्रममा मानव अंग प्रत्यारोपण सेवा पनि विस्तार गर्न लागिएको बताए । उनले अंग प्रत्यारोपण र डायलासिस सेवा विस्तारका लागि आवश्यक पर्ने कानुनी जटिलता तथा सहजीकरणका लागि छिट्टै पहल गरिने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार