दाङ : राप्ती गाउँपालिका–८ पिपरी निवासी केशरा गुरुङ सामान्य गृहिणी महिला हुन् । बिहान–साँझ घरको काम गर्ने गुरुङको दिउँसो समय फुर्सदमै बित्ने गरेको थियो ।
त्यही खाली समयलाई सदुपयोग गर्दै गुरुङले अहिले पिपरीमा गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएकी छन् । आफू जस्तै दश जना महिलासँग मिलेर दुई वर्षअघिदेखि पिपरीमा राप्ती महिला उद्यमी गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएकी गुरुङले उद्योगबाट महिनामा डेढदेखि दुई लाखसम्मको कारोवार गर्ने गरेको बताउँछिन् ।
एक्लै व्यवसाय सञ्चालन गर्न आर्थिक अभावसँगै बजारको ज्ञान नहुँदा दिदीबहिनीसँग मिलेर व्यवसाय सञ्चालन गरेको भन्दै सञ्चालक गुरुङले भनिन, ‘घरको कामपछि दिनभर केही काम थिएन, साथीहरूसँग सल्लाह गरेर गार्मेन्ट उद्योग सञ्चालन गरेका हौं ।’ कटाई सिलाईको कामसँगै विद्यालयहरुबाट टाउजर, भेष्ट र जर्सी लगायतका सिलाउने काम गर्ने गरेको बताउँछिन् । महिलाहरुले मात्र सञ्चालन गरेको उद्योगमा सिँचाइ सम्वन्धी सम्पूर्ण काम महिलाले गर्ने गर्दै आएका छन् ।
गार्मेन्ट उद्योग सञ्चालनका लागि कटाई सिलाई सम्वन्धी तालिमसँगै मेसिन राप्ती गाउँपालिकासँगै ८ नम्वर वडा कार्यालयले सहयोग गरेको बताउँछिन् । उद्योग सञ्चालनका लागि गाउँपालिका–८ नम्वर वडा कार्यालयबाट चार वटा सिलाई, एउटा इन्टरलक र अर्काे छपाई सम्वन्धी मेसिनसँगै गाउँपालिकाबाट एउटा टाँकघर बनाउने र एउटा सिँचाइ मेसिन सहयोग भएपछि आफुहरुले दश–दश हजार गरेर करिव एक लाख रुपैयाँबाट कपडा किनेर उद्योग सञ्चालन गरेको बताइन् । सिलाई कटाई सम्बन्धी आधारभूत ज्ञान पहिलै भएको भन्दै उनले गार्मेन्ट सम्बन्धी तालिम भने राप्ती गाउँपालिकाको लालमटियामा गएर करिव दुई महिना आफूहरुले सिकेको बताउँछिन् ।
सुरुमा कसैले विश्वास नगर्दा उद्योग सञ्चालन गरेको कोठा भाडा तिर्ने पैसासमेत उठाउन धौधौ भएको भन्दै उद्योगकी कोषाध्यक्ष समेत रहेकी गुरुङले भनिन, ‘सुरुमा केहीले त हामीलाई रमाइलो गर्न मात्र थालेको भने, आज ती नै कपडा सिलाउन आउँछन् । हिजो नपत्याउनेले आज विश्वास गर्दा खुसी लाग्ने गर्दछ ।’ उद्योग सञ्चालन गरेबापत मासिक दश हजार रुपैयाँ भाडा तिर्दै आएकी छन् ।
महिला दिदीबहिनीहरु मिलेर सामुहिकरुपमा काम गर्दा सिपको आदानप्रदानसँगै उद्योग सञ्चालनमा सहजता भएको अर्की सञ्चालक उत्तम चौधरी बताउँछिन् । उनका अनुसार बिरामी वा अन्य घरको काम गर्दा उद्योगमा दुई–चार दिन नआएपनि अन्य समयमा बिहान–साँझ घरको काम गरेर प्रायः सवै आउने गरेको बताउँछिन् ।
दुई वर्षदेखि नियमितरुपमा उद्योग सञ्चालन भएपछि दाङसहित प्युठानबाट समेत स्कुलका कपडा सिलाउनका लागि अर्डर आउने गरेको भन्दै समूहकी उपाध्यक्ष समेत रहेकी चौधरीले भनिन, ‘अहिले गाउँघर मात्रै होइन, प्युठानबाट पनि अर्डर आउने गरेको छ । विद्यालयका पोशाकदेखि खेलकुदका टिसर्ट,हाफ पाइन्ट, जर्सीसम्म सिलाउने गरेका छौं ।’ उनका अनुसार उद्योगमा काम गर्ने उद्योगका लागि आवश्यक रकम छुट्याएर महिनामा १५ देखि २० हजारसम्म तलवका रुपमा लिने गरेको छ ।
गार्मेन्टका लागि आवश्यक सामग्री बुटवलबाट ल्याएर दाङमा व्यवसाय गरिरहेको भन्दै चौधरीले गार्मेन्ट सम्वन्धी सिपले आफूहरुलाई गृहिणीबाट उद्यमीका रुपमा चिनाएको बताउँछिन् । उद्योग सञ्चालन गर्नेमा केशरा, उत्तमसँगै छवि गुरुङ, सुमित्रा गुरुङ, सिमा चौधरी, मिना चौधरी, हेमकला रोका, कल्पना पुन, प्रतिक्षा बिक र अनु श्रेष्ठ रहेका छन् ।
महिलाहरुले सिलाउनेदेखि बजार व्यवस्थापनसम्मको सम्पूर्ण काम आफैँ गरेर पालिकामा नमूना काम गरेको राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी बताउँछिन् । गार्मेन्ट उद्योग सञ्चानका लागि चाहना गरेर सहयोग मागेपछि महिलालाई उद्यमीका रुपमा विकास गर्नका लागि गाउँपालिकाले उद्योग सञ्चालनका लागि आवश्यक सिँलाइ मेसिन सहयोग गरेको भन्दै उपाध्यक्ष चौधरीले त्यही सहयोगबाट राम्रो व्यवसाय सञ्चालन गरेर उदाहरणीय काम गरेको बताउँछिन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार