बर्दिया : बर्दियामा पछिल्लो समय इ–रिक्सा चलाएर स्वरोजगार बन्ने महिलाको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । एक समय घरधन्दा र खेतबारीमा सीमित रहने महिलाहरू अहिले इ–रिक्साको स्टेयरिङ सम्हाल्दै परिवारको आर्थिक जिम्मेवारीमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् ।
आफ्नै मेहनतबाट आम्दानी गर्न थालेपछि उनीहरूको आत्मविश्वास बढेको छ भने छोराछोरीको पढाइ–लेखाइ र घरखर्च व्यवस्थापनमासमेत सहजता आएको छ ।
पछिल्ला वर्षहरूमा सहरदेखि गाउँबस्तीसम्म इ–रिक्साको प्रयोग तीव्र रूपमा बढेको छ । सस्तो भाडा, साँघुरा गल्ली तथा कच्ची सडकमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने भएकाले छोटो दूरीका यात्रुका लागि इ–रिक्सा भरपर्दो यातायातको साधन बन्दै गएको छ । यही अवसरलाई उपयोग गर्दै बर्दियाका महिलाहरू पनि यातायात क्षेत्रमा सक्रिय हुन थालेका छन् ।
शुरुवाती दिनमा इ–रिक्सा चलाउन केही चुनौती र अप्ठ्यारो भए पनि अहिले यात्रु ओसारपसारबाट राम्रो आम्दानी भइरहेको महिला चालकहरू बताउँछन् । इ–रिक्सा चालक इन्दु थारुले भनिन, 'पहिले घरधन्दामै सीमित थिएँ। अहिले इ–रिक्सा चलाएर आफ्नै कमाइ हुन थालेपछि छोराछोरीको पढाइ र दैनिक खर्च व्यवस्थापन गर्न सहज भएको छ । आफ्नै खुट्टामा उभिन पाउँदा छुट्टै खुसी मिलेको छ ।'
राजापुर र गेरुवा क्षेत्रका विभिन्न स्थानमा यात्रु सेवा दिँदै आएका महिला चालकहरू दैनिक आम्दानीले परिवारको आर्थिक भार कम गर्न सहयोग पुगेको बताउँछन् । इ–रिक्सा चालक निमा वली र बेलमती थारुका अनुसार घरमा खाली बस्नुभन्दा केही आम्दानी गरेर परिवारलाई सहयोग गर्ने उद्देश्यले आफूहरू यो पेशामा लागेका हुन् । उनीहरूका अनुसार इ–रिक्साले आर्थिक आम्दानीसँगै आत्मसम्मान र आत्मनिर्भरताको अनुभूति समेत दिलाएको छ ।
जिल्लामा हाल २० जनाभन्दा बढी महिला इ–रिक्सा चालक सक्रिय रहेको अनुमान गरिएको छ । महिला चालकहरू पुरुषको तुलनामा बढी जिम्मेवार र ट्राफिक नियमप्रति सचेत देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरी निरीक्षक सन्दीप बेल्बासेका अनुसार महिला चालकहरूले सुरक्षित र अनुशासित ढंगले सवारी सञ्चालन गरिरहेका छन्, जसले यातायात क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
महिलाहरू यातायात क्षेत्रमा सक्रिय बन्दै गएसँगै बर्दियामा महिला सशक्तीकरणको नयाँ उदाहरण स्थापित हुँदै गएको छ । इ–रिक्सा उनीहरूका लागि केवल आम्दानीको स्रोत मात्र नभई आत्मनिर्भर जीवनको आधारसमेत बनेको छ । आफ्नै परिश्रमबाट परिवारको आर्थिक अवस्था सुधार गर्दै छोराछोरीको भविष्य उज्यालो बनाउन सफल यी महिलाहरूले समाजमा श्रम, साहस र आत्मनिर्भरताको प्रेरणादायी सन्देश फैलाइरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार