Listen LIVE

जेनजी आन्दोलनका शहिदद्वयको नेपालगञ्जमा शालिक अनावरण

नेपालगञ्ज : नेपाल मै पहिलो पटक नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको स्मरणमा सहिदहरुको सालिक अनावरण गरिएको छ । जेनजी आन्दोलनका क्रममा काठमाडौंमा सहिद भएका नेपालगन्जका २ जना सहिदहरुको अर्धकदको शालिक आज अनावरण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को पहलमा भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौंमा शहादत प्राप्त गरेका नेपालगञ्ज–१ धम्बोझीका दुई जना सहिद ई. सुलभराज श्रेष्ठ र आयुष थापाको अर्धकदको शालिक निर्माण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र भवनको हाताभित्र स्वर्गीय श्रेष्ठ र थापाको अर्धकदको शालिक निर्माण भएको छ ।

आज एक कार्यक्रमका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल तथा सहिदद्वयका आमाबुवाले संयुक्तरुपमा शालिकको अनावरण गरे । वडा अध्यक्ष रिजालका अनुसार वडा कार्यालयकै सहयोगमा सहिदद्वयको स्मृतिमा योग तथा खोप केन्द्र भवन र ओपन जिम पार्क निर्माण गरेको छ ।

नगर प्रमुख विष्टले आजै भवन र पार्कको उदघाटन गरे । अनावरण तथा उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले सहिदलाई साक्षी राख्दै जनआकांक्षा र नागरिक हितमा काम गर्न सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता औंल्याए । वडा अध्यक्ष रिजालले वडा नम्बर १ लाई खेलकुदको हब बनाउन वडा सरकार पर्यत्नरत रहेको बताए ।

प्रतिक्रिया