Listen LIVE

भेरी–बबई निर्माणमा विलम्ब

सुर्खेत : राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा विलम्ब भएको छ । पटक पटक म्याद थप गर्दा पनि आयोजनाको काम अधुरै छ । आयोजनाको निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने हो तर पूर्वनिर्धारित लक्ष्य अनुसार निर्माण सम्पन्न हुन नसकेपछि काम अधुरै बनेको हो । 

आयोजनाको सिभिल वर्कतर्फको काम गर्न निर्माण कम्पनीलाई चैत २० गतेसम्मको समय दिइएको थियो । म्याद सकिँदासम्म अहिलेसम्म ५७ प्रतिशत मात्र काम सम्पन्न भएको छ । आव २०७१–७२ बाट आयोजनाको निर्माण थालिएको थियो । सम्झौता अनुसार आव २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य रहेको थियो तर तोकिएको समयमा काम हुन सकेन । पुनः म्याद थप भयो । म्याद थप भएसँगै आव २०७९–८० मा हुनुपर्ने कार्यको दायित्व आव २०८२–८३ मा सारियो । 

तर पनि निर्माणको काम सम्पन्न हुन सकेको छैन । आयोजनाले कोरोना महामारीको असर, प्रक्रियागत जटिलता, प्रतिकूल मौसम, सामान ढुवानीमा ढिलाइलगायतका कारण देखाउँदै आउने गरेको छ । आव २०८२–८३ सम्म भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने लक्ष्य थियो । आयोजनाको पहिलो चरण अन्तर्गत टनेल निर्माण २०७५ मा सम्पन्न भइसकेको छ । अहिले दोस्रो चरण अन्तर्गतको सिभिल संरचनाको निर्माण भइरहेको छ । २०७६ मङ्सिरदेखि दोस्रो चरणका कार्य थालिएको थियो । आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत्गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबिच २०७६ साउनमा ठेक्का सम्झौता भएको छ । अहिलेसम्म ५७ प्रतिशत मात्र काम सकिएको छ । 

हालसम्म आयोजनाको ५७ प्रतिशत काम सकिएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक हरिदत्त पौडेलले बताउनुभयो । अहिले म्याद थपका लागि प्रक्रिया अघि बढाइएको पौडेलको भनाइ छ । आयोजना निर्माण गर्नका लागि तेस्रो पटक दिएको समय सकिए पनि निर्माण कम्पनीले अझै साढे तीन वर्ष अर्थात् ४० महिनाको समय माग गरेको उनले जानकारी दिए । पछिल्लो समय थप गरेको समयमा सन्तोषजनक काम देखिएकाले म्याद थप गर्न आवश्यक देखिएको उनको भनाइ छ । 

यस्तै जेभीमा ठेक्का लिएको चाइनिज कम्पनी ग्वाङ्डोन–युनाटियन कम्पनी काममा नआएको देखिएको र त्यसले गर्दा रमण कन्स्ट्रक्सन एक्लैको सामथ्र्यले गति लिन नसकेको निर्देशक पौडेलले बताए । अहिले कामको गति तीव्र हुन सकिरहेको छैन । भेरी नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको छ ढोका राखेर बाँध र हात्तीखालमा विद्युत् पावरहाउसको निर्माण गर्नुपर्ने सम्झौतामा छ । त्यसका लागि आयोजनाले आठ अर्ब लागत अनुमानमा ठेक्का आह्वान गरेकोमा रमण कन्स्ट्रक्सन जेभीले झन्डै एक अर्ब ८४ करोड -भ्याटसहित) रकम घटेर छ अर्ब १६ करोड ५२ लाख रुपैयाँमा टेन्डर पाएको थियो ।

अहिले आयोजनामा सिभिल, इलेक्ट्रिकल र हाइड्रो इलेक्ट्रिकल गरेर तीन छुट्टाछुट्टै सम्झौता अनुसार काम भइरहेको छ । सिभिल वर्कको काम अरू दुईसँग पनि सम्बन्धित हुन्छ । यसले गर्दा सिभिल वक्र्सको काम रोकिएमा इलेक्ट्रिकल र हाइड्रो इलेक्ट्रिकलको काम पनि रोकिने अवस्था रहेको आयोजना निर्देशक पौडेलको भनाइ छ । 

नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन -टिबिएम) प्रविधिको प्रयोग गरिएको आयोजनामा सुरुङमार्गको ब्रेक–थ्रु निर्धारित समयअगावै सकिएको थियो । भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झन्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइसँगै ४६ मेगावाट बिजुली निकाल्ने लक्ष्य राखेको छ । आव २०८७–८८ सम्ममा आयोजनाको निर्माण सक्ने योजना छ ।

प्रतिक्रिया