Listen LIVE

रक्तदान कार्यक्रममा ९४ पिन्ट रगत सङ्कलन

बर्दिया : बर्दियाको भुरिगाउँमा सञ्चालन गरिएको १६ औँ बृहत् रक्तदान कार्यक्रममा ९४ पिन्ट रगत सङ्कलन गरिएको छ । 

ठाकुरबाबा नगरपालिकाले हरेक तीन–तीन महिनामा आयोजना गर्ने बृहत् रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको हो । रक्तदान कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिना भट्टराई, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीसहित ९४ जनाले रक्तदान गरेका थिए । 

रक्तदान गर्नेमा १३ जना महिला र ८१ जना पुरुष रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबाका अध्यक्ष छविलाल लम्सालले बताए । नियमित गर्ने बृहद् रक्तदान कार्यक्रममा २ सय ५० पिन्टसम्म रगत सङ्कलन भएको उनले बताए । 

बर्दिया थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । थारू समुदायमा बढी सिकलसेल र थालसेमिया रोग देखा पर्ने गर्दछ । सिकलसेल एनिमिया र थालसेमिया रोगको लागि बढी रगत आवश्यक पर्ने भएकाले हरेक तीन–तीन महिनामा बृहत् रक्तादान कार्यक्रमको आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले बताइन् । 

उनले सङ्कलन गरिएको रगत गुलरिया, कोहोलपुर र नेपालगञ्जको भेरी अस्पतालमा सञ्चालित रक्तसञ्चार केन्द्रमा पठाउने गरिएको बताइन् । नगरपालिकाले नियमित कार्यक्रममा राखेर नै रक्तदान कार्यक्रम राखेको उनले बताइन् । चालु आर्थिक वर्षमा ठाकुरबाबा नगरअस्पताल नयाँ भवनमा सारेपछि नगरअस्पतालमै रक्तसञ्चार सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताइन् ।

नेपाल रक्तदाता समाज बाँकेको प्राविधिक सहयोग नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबाको समयन्वयमा ठाकुरबाबा नगरपालिका–२, रानीपुर कभर्डहलमा आयोजना गरिएको थियो । स्थानीय सरकारको आयोजनामा नियमित सबैभन्दा धेरै रगत सङ्कलन हुने लुम्बिनी प्रदेशमै पहिलो रक्तसञ्चार कार्यक्रम भएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताए ।

प्रतिक्रिया