नेपालगञ्ज : आज जुन ३ अर्थात् विश्व साइकल दिवस। सन् २०१८ मा संयुक्त राष्ट्रसंघले औपचारिक रूपमा घोषणा गरेसँगै संसारभर विश्व साइकल दिवस मनाउने गरिएको छ।
आज नेपालगन्ज साइकलिङ क्लबको आयोजनामा सिटी राइडको आयोजना गरी विश्व साइकल दिवस मनाइएको क्लबका अध्यक्ष कविराम बुढाथोकीले जानकारी दिए। अध्यक्ष बुढाथोकीका अनुसार सो अवसरमा नेपालगञ्ज साइकलिङ क्लबका पूर्व अध्यक्ष एवं नेपाल साइकल महासङ्घका महासचिव सतीश निरौलाले साइकल अभियान, यसको महत्त्व र विश्व साइकल दिवसका सन्दर्भमा मन्तव्य व्यक्त गरेका थिए।
नेपालगञ्ज उपमहानगरको मुख्यद्वारबाट शुरु भएर शहर परिक्रमा गरी कान्तितालमा पुगेर कार्यक्रम समापन गरिएको थियो। आजको कार्यक्रमले नेपालगञ्जमा साइकल संस्कृतिको विकास, आम मानिसको साइकलप्रतिको रुचि वृद्धि तथा साइकल जागरणलाई महत्त्वपूर्ण टेवा पु¥याएको प्रतिक्रिया साइकल अभियानमा सक्रिय नेपालगन्ज धम्बोजी निवासी रमेशकुमार मल्लले बताए।
त्यस्तै कार्यक्रममा सहभागी मुटुरोग विशेषज्ञ डा. बिपिन आचार्यले शहरमा देखिएको साइकल अभियान स्वास्थ्य र वातावरणका दृष्टिले अति नै महत्त्वपूर्ण रहेको बताए। नियमित साइकल चलाउने नेपालगञ्ज निवासी राजीव विक्रम शाहले आफू साइकलमा नियमित हिँडडुल गरिरहँदा निकै स्वस्थ र फुर्तिलो अनुभव गरेको सुनाए। उनले पछिल्लो समय पेट्रोलको मूल्य ह्वात्तै बढेसँगै मोटरसाइकल थन्क्याएर आफ्नो दैनिकी साइकलमै बिताइरहेको समेत बताए।
नेपाल साइकल महासङ्घको आह्वानसँगै देशका १६ वटा भन्दा बढी शहरहरूमा आज एकसाथ विश्व साइकल दिवसका विविध कार्यक्रमहरू सम्पन्न भएको जानकारी प्राप्त भएको प्रतिक्रिया नेपाल साइकल महासङ्घका महासचिव सतीश निरौलाले दिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार