Listen LIVE

पूर्वराजा शाहको नाममा करिब ८ लाखको पुर्जी जारी

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना पूर्वराजा ज्ञानेन्द्र शाहबाट भराउने भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको नाममा महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको छ । एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १–१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी ७ लाख ९३ हजार रूपैयाँको बिल महानगरपालिकाले निर्मल निवासमा पठाएको हो ।

पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा बसाल्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईको कमाण्डमा काठमाण्डौको तीनकुने क्षेत्रमा हिँसात्मक प्रदर्शन भएको थियो । तीनकुने वितण्डाको मुख्य दोषी ठहर गर्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा जरिवाना तोकेको हो ।

जरिवाना कसलाई तिराउने भनेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले टिममा छलफल गरेका थिए । दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भएपनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निश्कर्षमा पुगेपछि ज्ञानेन्द्र शाहकै नाममा पत्र काटिएको महानगरले जनाएको छ । प्रसाईले कमाण्ड सम्हालेलगत्तै पूर्वराजा ज्ञानेन्द्रसँग २ घण्टा छलफल गरेर आन्दोलनको कार्यक्रम तय गरेको प्रसाईलेनै बताएका थिए ।

ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने भन्दै शुक्रबार उनका समर्थकहरूले दुर्गा प्रसाईको नेतृत्वमा गरेको प्रदर्शन अराजक बनेको थियो । तिनीहरूले निजी घर, सरकारी गाडी जलाउने, तोडफोड गर्नेजस्ता ध्वंसात्मक गतिविधि गरेका थिए ।

महानगरको टोलीले शुक्रबार र शनिबार गरी क्षतिको विवरण संकलन गरेको थियो । शुक्रबार अबेरसम्म पनि प्रदर्शनकारी उग्र भइरहेपछि महानगर प्रहरी बलसहित कर्मचारीको टोली फर्किएको थियो ।

त्यसपछि शनिबार बिहानैदेखि महानगरको टोली प्रदर्शनकारीले विभिन्न संरचनामा पुर्याएको क्षतिको विवरण संकलन गर्न पुगेका थिए ।

प्रतिक्रिया