जाजरकोट : जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ । भेरी नगरपालिका ४ बोहोरा गाउँमा मुक्ति बस्नेत सप्लायर्सले मङ्गलबारदेखि पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । यस अघि पेट्रोल पम्प नहुँदा फुटपाथमा ड्रम तथा जर्किनबाट आपुर्ति हुँदै आएको थियो ।
आज बिहान आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले उदघाटन गरेपछि पम्प सञ्चालनमा आएको हो ।
समन्वय प्रमुख खत्रीले हालसम्म यस जिल्लामा पेट्रोल पम्प नहुँदा ग्राहकहरू निकै मर्कामा परिरहेकोमा अब पम्प सञ्चालनमा आएसँगै सहज हुने बताए । शुद्धता तथा आर्थिक भार समेत कम पर्न जाने हुँदा उपभोक्ताहरूलाई लाभ हुने प्रमुख खत्रीले भनाइ राखेका थिए ।
उदघाटन कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जिल्लामै पहिलो पटक आयल निगमअन्तर्गतको पेट्रोल पम्प सञ्चालनमा आएकोमा सप्लायर्सलाई धन्यवाद व्यक्त गरे । पेट्रोल पम्प सञ्चालनसँगै जिल्लामा सरकारी तथा गैरसरकारी कार्यालय तथा वित्तीय संस्थाका सवारी साधनहरूलाई निकै सहजता हने प्रजिअ मग्रातीको भनाइ छ ।
यसैगरी, यातायात व्यवसायी भीमबहादुर बुढाले पेट्रोल पम्प सञ्चालनसँगै आफुहरूलाई सवारी साधनमा तेल भर्न निकै सहज हुने विश्वास व्यक्त गरे । फुटफाटमा ड्रमको तेल प्रयोग गर्दा शुद्धता तथा महँगो मारमा परेका व्यवसायीहरूलाई निकै राहत पुग्ने बुढाको भनाइ छ ।
मुक्ती बस्नेत सप्लायर्सका सञ्चालक वीरबहादुर बस्नेतले आफुले १० वर्ष अगाडिदेखि थालनी गरेको प्रयास सबैको सहयोगमा सम्पन्न भई सञ्चालनमा ल्याउँदा निकै खुसी लागेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार