नेपालगञ्ज : नेपालगञ्जको फुलटेकस्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले एक वर्षमै करिब ४० हजार बिरामीलाई ओपीडी सेवा दिएको छ । कान उपचारका लागि नेपाली मात्र नभई भारतीय बिरामीहरूको पनि भरोसाको केन्द्र बनेको ब्रिनोजले आर्थिक वर्ष २०८१–०८२ मा ३९ हजार ५३७ जनालाई ओपीडी सेवा प्रदान गरेको सेवाका प्रवन्धक चेतनारायण चौधरीले जानकारी दिए ।
उनका अनुसार, सेवा लिनेमा २४ हजार ५०३ जना महिला र १५ हजार ०३४ जना पुरुष छन् । तीमध्ये ३१ प्रतिशत भारतीय नागरिक हुन् । यस्तै, ७८४ वटा शल्यक्रिया भएका छन्, जसमा ५८१ वटा मेजर शल्यक्रिया हुन् । कानको जाली प्वाल परेका तथा कानको हड्डी खाने समस्या भएका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको इएनटी सर्जन डा. आनन्द झा बताउँछन् । त्यस्तै, २०३ वटा माइनर शल्यक्रिया भएका छन् । शल्यक्रिया सेवा लिनेमा २४१ जना भारतीय बिरामी रहेका छन् ।
यो एक वर्षको अवधिमा ४ हजार २७ जनाको कानको सुनुवाइ क्षमता जाँच गरिएको छ भने ९६० जनाको ल्याब परीक्षण गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा ३५ हजार ८३४ जनाले ओपीडी सेवा लिएका थिए । त्यतिबेला ७२६ जनाको शल्यक्रिया भएको थियो भने ४ हजार २१९ जनाको सुनुवाइ परीक्षण र ९२१ जनाको ल्याब परीक्षण गरिएको थियो ।
इएनटी सर्जन डा. आनन्द झा, डा. अजय बैश्य, डा. लोकनाथ वर्मा लगायतको टोलीले ओपीडी तथा शल्यक्रिया सेवा दिँदै आएको छ । दक्ष चिकित्सकहरूको उपचारले बिरामीमा थप भरोसा र विश्वास दिलाएको बिरामीहरूले बताएका छन् ।
यस्तै, भीषण थारुको नेतृत्वमा आउटरिच कार्यक्रम पनि ब्रिनोजले सञ्चालन गर्दै आएको छ । कान स्वास्थ्यबारे जनचेतना फैलाउन तथा ग्रामीण क्षेत्रका नागरिकलाई निःशुल्क सेवा प्रदान गर्न लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शिविर आयोजना गरिएको प्रवन्धक चौधरीले बताए । आर्थिक वर्ष २०८१–०८२ मा मात्रै ७ हजार ६५६ जनाले आउटरिच कार्यक्रममार्फत सेवा लिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार