Listen LIVE

बाँकेका २१ उम्मेदवारद्वारा छुट्टै बैङ्क खाता सञ्चालन

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँकेका तीनवटै निर्वाचन क्षेत्रका २१ जना उम्मेदवारले निर्वाचन खर्च व्यवस्थापनका लागि छुट्टै बैङ्क खाता सञ्चालनमा ल्याएका छन् । निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्वाचन अवधिभरको सम्पूर्ण आर्थिक कारोबार पारदर्शी बनाउन अनिवार्यरूपमा अलग्गै बैङ्क खाता खोल्न निर्देशन दिएको थियो ।

आचारसंहिता अनुगमन जिल्ला समितिका अधिकृत पूर्णबहादुर खत्रीले यो व्यवस्था अनिवार्य भएको स्पष्ट पार्दै अटेरी गरे कारबाहीको भागी हुनुपर्ने चेतावनी दिएका छन् । उनले भने,“पटक–पटक उम्मेदवारहरूलाई छुट्टै खाता खोल्न निर्देशन दिइएको छ । नियम पालना नगर्नेहरूमाथि आवश्यक कारबाही अघि बढाइनेछ ।,” सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका खत्रीका अनुसार हालसम्म खाता नखोल्ने उम्मेदवारलाई पुनः चेतावनी दिने तयारी गरिएको छ ।

बैङ्क खाता सञ्चालनमा ल्याउने उम्मेदवारहरूमा क्षेत्र नम्बर २ का दिपेन्द्र विष्ट, मो. इस्तियाक राई, रामचरण चौधरी, जगदीश ढकाल, ऋषिराज देवकोटा, विवेककुमार श्रेष्ठ, शौभाग्यजंग शाह, शैलेन्द्रकुमार कर्ण, महेन्द्रप्रकाश चन्द लगायत रहेका छन् ।

निर्वाचन खर्च पारदर्शिता र आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले बैङ्क खाता अनिवार्य गरेसँगै बाँकेमा निर्वाचन गतिविधि थप व्यवस्थित र निगरानीयोग्य हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया