काठमाण्डौ : आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।
बुधबार लगातार पानी परेका कारण हवाई उडान रद्द भएकोले नेपाली टोली बिहीबार दिउँसो वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुगेको हो । समूह ‘डी’ अन्तर्गत नेपाल अमेरिकामा दुई खेल सकेर बाँकी दुई खेल खेल्न सेन्ट भिन्सेन्ट गएको हो ।
नेपाल समूहको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्रलोरिडामा बुधवारका लागि तय भएको श्रीलङ्काविरुद्धको दोस्रो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।
नेपालले सेन्ट भिन्सेन्टमा शनिवार दक्षिण अफ्रिकासँग तेस्रो र सोमबार बङ्गलादेशसँग अन्तिम खेल खेल्नेछ । नेपाललाई समूह चरण पार गरेर सुपर आठमा स्थान बनाउन अबका दुई खेल जित्नै पर्ने बाध्यता छ । अहिले समूहमा लगातार तीन जित निकालेको दक्षिण अफ्रिका ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाई सकेको छ ।
यस्तै दोस्रो स्थानमा रहेको बङ्गलादेशको चार अङ्क छ । बिहीबार भएको खेलमा बङ्गलादेशले नेलरल्यान्ड्सलाई २५ रनले हराएको थियो । सेन्ट भिन्सेन्टको किङसटाउन मैदानमा भएको खेलमा जितका लागि बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रनमा समेटिएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । हारे पनि तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्डस तेसो स्थानमा छ । दुई खेलबाट एक अङ्क बनाएको नेपाल चौथो र तीन खेलबाट एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । श्रीलङ्का विश्वकपबाट बाहिरी सकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार