Listen LIVE

बाँकेका मुस्लिम समुदायमा एचपिभी खोपप्रति आकर्षण

नेपालगञ्ज : मुस्लिम र मधेशी समुदायको ठुलो जनसङ्ख्या रहेको बाँकेको नेपालगञ्जमा यस पटक मुस्लिम समुदायका बालिका तथा किशोरीमा एचपिभी खोपप्रति विशेष उत्साह देखिएको छ । 

यसअघि सञ्चालन गरिएका विभिन्न खोप अभियानमा निकै कम सङ्ख्यामा मुस्लिम समुदायको सहभागिता हुन्थ्यो । यस पटक निकै राम्रो उत्साह देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप प्रमुख नरेश श्रेष्ठका अनुसार नेपालगञ्जमा सुरु गरिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन मुस्लिम समुदायका बालिका र किशोरीहरू ठुलो सङ्ख्यामा सहभागी भएका छन् । 

उनले सो क्रममा नेपालगञ्जको गुरुद्वारा रोडमा रहेको मदरसा बरकातियामा राखिएको खोप केन्द्रमा मुस्लिम बालिकाको निकै उत्साह देखिएको बताए । सो मदरसामा अध्ययनरत बालिका र वरिपरि क्षेत्रका समेत बालिका खोप लगाउन मदरसामा पुगेको मदरसाका प्रबन्धक मौलाना जियाउल मुस्तफाले बताए । 

मुस्लिम समुदायको खोपमा पहुँच बढाउन यसअघि स्वास्थ्य कार्यालयले बाँके युनेस्को क्लबसँगको सहकार्यमा मुस्लिम धर्मगुरु, शिक्षक र महिला अगुवासँग अन्तक्र्रियासमेत गरेको थियो ।

प्रतिक्रिया