नेपालगञ्ज : वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगञ्ज म्याराथनलाई यस वर्षको 'एम्स सोसल अवार्ड' प्रदान गर्ने निर्णय गरेको छ । संसारभरका रेस आयोजकमध्येबाट छनौट हुने यो एम्सको निकै प्रतिष्ठित अवार्ड हो ।
नर्वेको ट्रम्सोमा आउँदो जुन १८–२० मा हुने एम्सको २५औं वल्र्ड कंग्रेसमा उक्त अवार्ड प्रदान गरिने छ । छनोट समिति संयोजक एवं एम्स उपाध्यक्ष मार्था मोरालेसबाट अवार्डबारे जानकारी र बधाई प्राप्त भएको नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।
यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेशनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्वीटजरल्याण्ड)ले यो अवार्ड प्राप्त गरेका थिए । विविध कारणले बीचमा केही वर्ष रोकिएको यो अवार्ड यस वर्षदेखि निरन्तर प्रदान गर्न लागिएको उपाध्यक्ष मार्थाले बताइन् ।
उपाध्यक्ष मार्थाले नेपालगञ्ज म्याराथनका संस्थापक ठकुरीलाई पत्र लेख्दै भनेकी छिन्, 'हामी तपाईंलाई यो जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौं कि नेपालगन्ज म्याराथन यस वर्षको प्रतिष्ठित एम्स सोसल अवार्ड प्राप्तकर्ताका रुपमा चयन भएको छ ।' दौडको दुनियाँमा यो अत्यन्तै सम्मानित पुरस्कार भएको मार्थाले उल्लेख गरेकी छन् ।
'प्रत्येक वर्ष त्यस्ता उत्कृष्ट म्याराथनलाई प्रदान गरिन्छ, जसले म्याराथन आयोजनामा उत्कृष्ट अभ्यास प्रस्तुत गर्दै खेलकुदको दिगो विकासका पक्षमा आफ्नो सशक्त प्रतिबद्धता जनाएको हुन्छ' उनले भनेकी छन्, 'यो बिशेष पुरस्कारमार्फत तपाईं र तपाईंको संस्थाले समाजमा सञ्चालन गरेका सामाजिक पहलहरु र सकारात्मक कार्यहरुको सम्मान गरिएको हो । एम्सले अन्य सदस्य संस्थाहरुलाई पनि आफ्ना कार्यक्रमहरुमा यस्ता उत्कृष्ट अभ्यासहरु अपनाउन प्रेरित गर्ने उद्देश्य राखेको छ । हामी आशा गर्दछौं कि यो उपलब्धिले तपाईंलाई अझ उच्च सफलता हासिल गर्न प्रेरणा दिनेछ । यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ।'
नेपालगञ्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सञ्चालन हुँदै आएको दौड हो । कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो । एघार वर्षे सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगञ्जले म्याराथन यात्रा सुरु गरेको हो । बहुल जाति, धर्म र सम्प्रदायको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सदभाव र एकताको मालामा गाँस्ने प्रभावशाली माध्यमका रुपमा म्याराथन विधालाई लिएर सुरु गरिएको नेपालगञ्ज म्याराथनसँग अहिले करिब एक दर्जन भगिनी इभेन्ट सञ्चालनमा छन् । स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएको समस्याबारे सचेतना र अनुकूलनतर्फ प्रेरित गर्नेगरी गौघाट ग्रीन र राप्तीसोनारी नेचर रन दुई वर्षदेखि निरन्तर सन्चालन गर्दै आएको छ ।
रात्रिकालीन समयमा समेत सुरक्षित अनुभुति दिलाउन नेपालगञ्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन् । त्यसैगरी विश्वसामु नेपाली सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि काठमाडौं २५ किमी हेरिटेज रेस सुरु गरेको छ । साथै कर्णाली प्रदेशमा समेत कर्णाली हाफ म्याराथन शुरु गरेको छ । त्यस्तै, लोकतन्त्रमा संवाद बहसलाई अपरिहार्य महसुस गरेर नेपालगञ्ज डिस्कोर्सको शृंखला नेपालगन्ज कनक्लेवका ६ संस्करण संचालन भइसकेका छन् । गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्ससमेत आयोजना गरिएको थियो । जहाँ १८ देशका प्रतिनिधि सहभागी थिए । यसवर्षदेखि वन ग्लोबल माइल अन्तर्गत नेपालमा कोहलपुर माइलसमेत शुरु गरिने रेस नेपालले जनाएको छ ।
यसका साथै नेपाल रनिङ म्यागजिनसमेत निरन्तर प्रकाशन हुँदै आएको छ । नेपालगन्ज म्याराथनले विभिन्न अवधारणामा निरन्तर काम गरिरहेको बिषयलाई मुल्यांकन गर्दै यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको आफुलाई लागेको संस्थापक टीएस ठकुरीले बताए । …हामी दौडलाई सामाजिकीकरण गर्न र संस्कृति बनाउन चाहन्छौंÚउनले भने, 'यो अन्तर्राष्ट्रिय अवार्डले हामीलाई उर्जा दिने छ । नेपाललाई विश्वभर चिनाउने छ ।' नेपालको रनिङमा निरन्तर लागिरहेको मुल्यांकन गर्दै गत वर्ष एम्सले ठकुरीलाई नेपालका लागि आधिकारिक दूतसमेत नियुक्त गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार