Listen LIVE

थारू बस्तीमा सावन डोलाको रौनक

धनगढी : सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू बस्तीमा सावन डोलाको रौनक छाएको छ । रानाथारू तिज पर्व नजिकिएपछि यो समुदायमा सामन डोलाको रौनक छाएको हो । सो पर्वका अवसर पारेर रानाथारू समुदायका मानिसले झन्डै आधा महिनासम्म डोला (पिङ)खेल्दै रमाउने चलन रहेको छ । 

कैलाली, कञ्चनपुरमा रानाथारू जातिको बसोबास रहेको छ । दुवै जिल्लामा रहेका रानाथारू बस्तीमा ध्वजापताकासहित रङ्गीबिरङ्गी बनाई सजाइएको डोला झुल्ने कार्य भइरहेको छ । गाउँघरमा महिला दिदीबहिनी आआफ्नो परम्परागत वेशभूषा लगाएर डोलामा रमाउन थालेको धनगढी उपमहानगरपालिका–१०, घुइयाँघाटका रामदिन रानाले बताए । 'विशेष गरेर साँझपख महिलाले डोला झुल्दै रमाउँछन्,' रानाले भने, 'अब तिजसम्मै उक्त कार्य जारी रहने छ ।'

दसैँतिहार खासै नमनाउने रानाथारू समुदायले तिजलाई भव्य रूपले मनाउँदै आएका छन् । महिलाले मनाउने तिजभन्दा पहिल्यै साउनमा रानाथारू समुदायका महिलाले आफ्ना भाइभतिजको दीर्घायुका लागि व्रत बसेर तिज मनाउने गरेका छन् । तिजको अवसर पारेर गाउँघरमा तिज आउनुभन्दा १५ दिन पहिल्यै डोला बनाउने र सामूहिक रूपमा खेल्ने गरिन्छ । 

तिजको अवसरमा महिला दिदीबहिनी सामूहिक रूपमा गीत गाउँदै डोला खेल्ने, रमाउने गर्छन् । सावनको डोला खास गरेर गाउँको अगुवा भलमनसाको घर वा सार्वजनिक स्थानमा बनाइने गरिन्छ । महिलाले सामूहिक रूपमा डोलामा बस्ने गरेका कारण काठको बलियो खम्बा प्रयोग गरिन्छ । 

यसै गरी बलियो, मोटो डोरीमा काठको बलियो फ्ल्याक राखेर डोला तयार पारिन्छ । डोलालाई रङ्गीचङ्गी बनाएर सजाउने चलन पनि रहेको छ । सावनको डोला बनाउनका लागि चार वटा खम्बा, एउटा फ्ल्याक र बलियो डोरी आवश्यक पर्ने गरेको घुइयाँघाटका वृद्ध बालिकराम रानाले बताए । गाउँमा सावनको महिना महिला, बालबालिकादेखि लिएर युवासमेत डोलामा रमाउँछन् ।

प्रतिक्रिया