Listen LIVE

चिकित्सलाई आकस्मिक स्वास्थ्य सेवा तालिम

नेपालगञ्ज : अस्पतालहरुमा मृत्युको घटनालाई कम गर्न तथा प्रभावकारी सेवाका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आकस्मिक आधारभुत स्वास्थ्य सेवा सम्वन्धी तालिम दिइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत १२ वटा जिल्लाका २४ जना अस्पतालका चिकित्सक, स्टाप नर्स, स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरेको छ । नेपालगञ्जमा आयोजित तालिममा अस्पतालहरुमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, विरामी आउनेवित्तिकै त्यसको समस्या तथा निदान कसरी पहिचान गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने विरामीहरुको पहिलो उपचार कसरी गर्नेलगायतका बारेमा क्षमता अभिबृद्धि गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

उनका अनुसार यस क्षेत्रमा रहेका अस्पतालहरुमा सब भन्दा पहिले आकस्मिक सेवामा आउने विरामीको निदान तथा उपचार विधी र हेरचाह गर्ने बारेमा त्यहा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको भुमिकालाई प्रभावकारी बनाउन तालिम दिइएको हो । नेपालमा रहेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका आकस्मिक कक्षमा आउने जटिल समस्याका विरामीहरुको करिब ५० प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको तथ्याक रहेको मन्त्रालयका प्रबक्ता बुढाथोकीले बताए । 

विरामीको रोगको निदान तथा समयमा उपचार नपाएर मृत्यु हुने समस्यालाई अन्त्य गर्न जनशक्तिलाई दक्ष बनाइएको छ उनले भने,–‘यो तालिम पश्चात तालिम लिएका जनशक्तिले अस्पतालमा गएर आफ्नो व्यहवारमा परिवर्तन ल्याउने छन भने अन्य स्वास्थ्यकर्मीलाई पनि सिकाई हुनेछ ।’

मन्त्रालयले विगत तीन वर्षदेखि यो तालिम प्रदान गर्दै आएको छ । अहिलेसम्म आठ सय ११ जनालाई तालिम प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ । तालिम पश्चात आफ्नो अनुभव सुनाउदै डोल्पा अस्पतालका डा. आकषर्ण तिम्लिसेनाले यो तालिमले हामीलाई धेरै कुराको गम्भीरताको बारेमा सिकाएको भन्दै हामीले विरामीको उपचारमा धेरै कुराहरु विर्सीरहेका हुन्थ्यो त्यो कुरा थाह भएको बताए । 

उनले तालिममा सिकेका कुरालाई अस्पतालका अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि सिकाउने र विरामीको केयरमा विशेष ध्यान दिई उपचारमा लाग्ने प्रतिबद्धता गरे ।

तालिमको समापन समारोहमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका खगेन्द्र पंङ्गेनी, भेरी अस्पताल नेपालगञ्जका डा पवनजंङ्ग रायमाझी, प्रशिक्षक डा अरविन्द शाक्यलगायतले विरामीको रोगको निदानको अभाव र समयमा उपचार नपाएर विभिन्न घटनाहरु भईरहेकाले सब भन्दा पहिला आउने विरामीको हेरचाहमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । 

तालिमको ११औँ व्याचमा २४ जनालाई तालिम प्रदान गरिएको हो । तालिमका लागि युएसएआइडीलगायतका अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले समेत सहयोग गरेका छन् ।

प्रतिक्रिया