दाङ : चाडपर्वको समयमा घोराही उपमहानगरपालिका –१४ झिंगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।
अन्य समयमा मादलको कारोवार खासै नहुने भए पनि दसैं र तिहार पर्वका अवसरमा भने बिक्री राम्रो हुने गरेको उनको भनाइ छ । दसैं र तिहार पर्वका अवसरमा मादल बिक्रीसँगै बिग्रिएका मादल बनाएर डेढ लाख बढी आम्दानी गरेको उनले बताए । दसैं–तिहारका अवधिमा २५ बढी नयाँ मादलहरु बिक्रीसँगै पुराना मादलहरु मर्मत गर्दा कमाइ भएको उनको बुझाइ छ ।
पछिल्लो समय नयाँ मादल खरिद गर्नभन्दा पुराना मादल खरिदका लागि आउने गरेको भन्दै उनले भने, ‘पुराना मादल मर्मत गर्दा कम समयमा राम्रो आम्दानी हुने गर्दछ ।’ दसैं–तिहारको अवसरमा मादलको कारोवार बढेसँगै बनाउन भ्याइनभ्याइ रहेको भन्दै बादीले भने, ‘दसैंमा थारु समुदायमा नाच्ने र तिहारमा देउसी–भैलो खेल्नका लागि मादलको माग बढी नै हुने गरेको छ । जसले गर्दा हाम्रो आम्दानी हुने गरेको छ ।’
नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि दैनिक १५–२० जना मानिसहरु आउने गरे पनि एक्लै काम गर्न धौधौ परेको बताए ।
चाडपर्वको समय भएकाले मादल बनाउन आउने मानिसको सङ्ख्या धेरै भएको भन्दै उनले भने, ‘यो समय मादल बनाउन भ्याइनभ्याइ रहेको छ । अहिले जति धेरै काम गर्न सक्यो, त्यति धेरै आम्दानी हुने भएकाले दिनरात नभनी नयाँ मादल बनाउन र मर्मतमा लाग्ने गरेकोे छु ।’ अन्य महिनामा खासै काम नहुने भए पनि असोज र कात्तिकमा मादलको कारोवार बढी हुने गरेको बताए ।
मादल बनाउन जानेको मानिस पछिल्लो समय पाउन गाह्रो भएको भन्दै उनले भने, ‘मैले सानैमा बुबा–बाजेबाट मादल, बाँसुरी र ढोलक बनाउन सिके, त्यही सिपले अहिले दैनिकी चलाइरहेको छु । तर अहिलेको नयाँ पुस्ता मादल बनाउने सीप छैन । न आकर्षण छ ।’
विगत ५० वर्षदेखि निरन्तर घोराहीमा मादल बनाउँदै र बिक्री गर्दै आएका बादीको घरपरिवारको मुख्य स्रोत नै यही भएको बताए । मादल बनाएर घरव्यवहार चलाउँदै आएको भन्दै बादीले भने, ‘सानैमा बुबाबाजेदेखि नै मादल बनाउने काममा लागे, गरी खाने हातमा अरु सिप छैन । उमेरले साथ दिएसम्म आफनो पेसा छोड्ने मन छैन ।’
मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक सामग्री जस्तै काठ, छाला र खरी पाउनै समस्या भएको बताए । पहिला मादल बनाउन जङ्गलबाट काठ लिन पाइने गरे पनि पछिल्लो समय त्यसरी ल्याउन रोकिँदा बजारमा रहेका काष्ठ उद्योगबाट मादल बनाउने काठ ल्याउने गरेको बताए ।
यसरी बनाइएका मादल साइजअनुसार ३५ सयदेखि ३० हजारसम्ममा बिक्री हुने गर्दछ । मादल बनाउन मेहनती काम भएको भन्दै उनले सबै सामग्री तयार भएमा कम्तीमा पनि एक व्यक्तिलाई दुई दिन लाग्ने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार