Listen LIVE

दशैँ नजिकिएसँगै नेपाली उपभोक्ता भारतीय बजारमा

यदुराज मिश्र/नेपालगञ्ज : दशैँ नजिकिएसँगै नेपालगञ्जको बजारभन्दा पनि भारतीय सीमावर्ती बजार रुपईडिहामा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ । 

कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको हो । नेपालगञ्जको बजारमा फाटफुट ग्राहक देखिए पनि सीमावर्ती भारतीय बजार रुपईडिहामा उपभोक्ताको भीड बढेको छ । 

नेपालगञ्जभन्दा रुपईडिहामा सस्तो दरमा सामान पाइने भएकोले किनमेलका लागि रुपईडिहा आएको नेपालगञ्ज वडा नं. १ की मनीषा रोकायले बताइन् । सरकारले किनमेल गरेपछि बिल अनिवार्यरुपमा लिन भनेपनि रुपईडिहाका ब्यापारीले सादा बिल दिने गरेको उनले बताइन् ।

चाडपर्व आएसँगै नेपालगञ्जका ब्यापारीले प्रत्येक सामानमा मूल्य बढाए पनि तीनै तहको सरकारले अनुगमनमा चासो नदिँदा जनतालाई सास्ती भएको उनको भनाइ छ ।

रुपईडिहामा किनमेल गर्न पुगेकी नेपालगञ्ज वडा नं. १० की अनिता श्रेष्ठले चाडपर्वका बेला भारतीय ब्यापारी पनि ठगिने गरेको गुनासो पोखिन् । उनले दशैंका लागि घरपरिवारलाई लुगा किन्दा अरु बेलाभन्दा पनि अहिले रुपईडिहामा पनि दाम बढेको बताइन् । 

यसैगरी घरायसी सामान किन्नका लागि रुपईडिहा पुगेका कोहलपुर दशबिघाका रञ्जन थापाले नेपालभन्दा रुपईडिहामा अलि सस्तो रहेको बताए । उनले चाडपर्वका बेला बाँकेका बजारमा भाउ बढे पनि तुलनात्मकरुपमा भारतीय बजारमा सस्तो पर्ने गरेको जिकिर गरे । 

उनका अनुसार रुपईडिहाबाट सामान किनेर फर्किंदा भारतीय प्रहरीले केही नभने पछि नेपाली सुरक्षा निकायले सताउने गरेको गुनासो गरे । ‘एक त नेपालमा महँगो पाइन्छ, रुपईडिहाबाट किनेर ल्याउँदा खेरी जमुनाहास्थित प्रहरीले धेरै केरकार गर्ने गरेको’ उनले भने ।,

रुपईडिहाबाट किनमेल गरेर फर्किंदै गरेका खजुरा वडा न. २ का रुपेश खड्काले नेपालमा चाडपर्वको मुखैमा आएर मात्र अनुगमनको देखावा गर्ने गरेको आरोप लगाए । ‘बाँकेमा रहेको तीनवटै बजार नेपालगञ्ज, कोहलपुर र खजुरामा अहिले सामान छोइनसक्नु भाउ बढेको छ, उनले भने, ‘अहिले प्रहरी प्रशासनसहित सम्बन्धित निकायले के हेरेर बसेछ ।,

चाडपर्वको मुखैमा जेन–जी आन्दोलनबाट गुज्रेको देशमा महँगी अत्याधिक बढेको भन्दै खड्काले महँगी नियन्त्रण गर्न नसके यहाँका जनता निराश हुने जिकिर गरे ।

प्रतिक्रिया