नेपालगञ्ज : नेपालगञ्जस्थित वेस्टर्न अस्पतालले विस्तृत क्रिटिकल केयर कोर्सको औपचारिक सुरुवात गरेको छ । क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सो कोर्सको शुरुवात गरेको अस्पतालले जनाएको हो ।
क्रिटिकल केयरका क्षेत्रमा कार्यरत नर्सहरूको सीप र दक्षतालाई बढाई बिरामीहरूलाई विश्वस्तरीय हेरचाह उपलब्ध गराउन सक्षम बनाउने उद्देश्यले पाँचहप्ते प्रशिक्षण कार्यक्रमको शुरुवात गरिएको वेस्टर्न हस्पिटलकी अध्यक्ष तथा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापाले बताइन् । उनले क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यबाट, नर्सहरूलाई उच्च दबाबको वातावरणमा समेत उत्कृष्टता हासिल गर्न आवश्यक उपकरण र आत्मविश्वास प्राप्त हुने जनाउँदै यसले धेरैको जीवन बचाउन मद्दत गर्ने बताइन् ।
नेपाल मेडिकल एसोसिएसन भेरी शाखा नेपालगञ्जका अध्यक्ष डा.विनोद थापा, वेस्टर्न हस्पिटलका अध्यक्ष डा.कल्पना थापा, क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कविता सिटौला र सह–कोषाध्यक्ष वरुणा पौडेलले सो कोर्सको संयुक्तरुपमा शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै नेपाल मेडिकल एसोसिएसन भेरी शाखा नेपालगञ्जका अध्यक्ष तथा पश्चिम नेपालका चर्चित अर्थोपेडिक्स सर्जन डा.विनोद थापाले आयोजित प्रशिक्षण कार्यक्रम यस क्षेत्रकै क्रिटिकल केयर सेवालाई मजबुत बनाउन महत्वपुर्ण रहेको जनाए ।
क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कविता सिटौलाले क्रिटिकल केयर कोर्सको उद्देश्य आफूहरुसँग मेल खाने र नेपालको सम्पूर्ण नर्सिङ मापदण्डलाई सुधार गर्न योगदान पुर्याउने भएको हुँदा पहिलो पटक यस प्रकारको विशेष कार्यक्रम नेपालको पश्चिमी क्षेत्रमा आयोजना गरिएको बताइन् ।
प्रशिक्षणमा सहभागि नर्सहरूले जटिल क्रिटिकल केयर केसहरूको व्यवस्थापन, अत्याधुनिक उपकरणहरूको प्रयोग र प्रमाणमा आधारित अभ्यासबाट बिरामीको स्वास्थ्य सुधार गर्ने विशेषज्ञता प्राप्त गर्ने अस्पतालले जनाएको छ ।
कोर्सको शुरुवात कार्यक्रममा वरिष्ठ सर्जन डा.रूपानन्द अधिकारी, वरिष्ठ अर्थोपेडिक्स सर्जन डा.किरण गुरुङ, एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डे, ईएनटी सर्जन डा.रवि स्वार, यूरो सर्जन डा.प्रबिन गुप्ता, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.एलिश श्रेष्ठलगायतको उपस्थिति थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार