नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन् । प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवासस्थल रहेको सङ्केत गरेको छ ।
पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेष फेला परेका छन् । ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको उनले बताए ।
गत वर्ष गरिएको आकस्मिक अध्ययनबाट पनि कुसुम क्षेत्र प्रागैतिहासिक मानव गतिविधिसँग जोडिएको प्रारम्भिक निष्कर्ष प्राप्त भएको थियो । यस वर्ष गरिएको विस्तृत अनुसन्धानले भने राप्ती नदी आसपासको फराकिलो भूभागमा प्रागैतिहासिक मानव सभ्यता फैलिएको हुन सक्ने थप प्रमाण फेला पारेको परियारले जानकारी दिए । उनका अनुसार भेटिएका पाषाण औजारहरू प्रारम्भिक मानव समूह 'होमो इरेक्टस' र 'होमो ह्याबिलिस' जस्ता मानव प्रजातिले प्रयोग गरेका हुन सक्ने सम्भावना देखिन्छ । उनले ती औजारको बनावट अफ्रिकाको तान्जानियामा भेटिएका प्राचीन 'ओल्डोवान संस्कृति' का पाषाण औजारसँग मिल्दोजुल्दो देखिएको बताए ।
'बेल्लौरे (पेबल) ढुङ्गाको एक भागमा धार निकालिएका तथा ढुङ्गाको भित्री र बाहिरी सतहबाट निर्माण गरिएका औजारहरू फेला परेका छन्,' परियारले भने, 'यसले नेपालमा मानव सभ्यताको प्रारम्भिक विकासक्रम अध्ययन गर्न महत्वपूर्ण आधार प्रदान गर्न सक्छ ।'
पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार र त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कमल शाही सम्मिलित टोलीले स्थानीय तहको समन्वयमा कुसुम क्षेत्र, राप्ती नदीको उत्तर–दक्षिण तटीय भूभाग तथा भुँवरभवानी मन्दिर आसपासका सामुदायिक वन क्षेत्रमा अनुसन्धान गरेको थियो । अध्ययनमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलको समेत सहभागिता रहेको थियो ।
अनुसन्धानका क्रममा फेला परेका केही पाषाण औजार थप वैज्ञानिक परीक्षणका लागि पुरातत्व विभागमा लगिएको छ भने केही नमुना स्थानीय तहलाई हस्तान्तरण गरिएको टोलीले जनाएको छ ।
गाउँपालिका अध्यक्ष पौडेलले प्रारम्भिक अध्ययनमै ढुङ्गेयुगीन संस्कृतिसँग सम्बन्धित औजारका अवशेष फेला पर्नु राप्तीसोनारीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । केही ढुङ्गामा मानव प्रयोग वा प्राकृतिक प्रक्रियाबाट बनेका विशेष चिह्न देखिएकाले यसको ऐतिहासिक महत्व अझ गहन अध्ययनबाट स्पष्ट हुने उनको भनाइ छ । सम्भावित पुरातात्त्विक सम्पदाको संरक्षण तथा थप अनुसन्धानका लागि गाउँपालिकाले आवश्यक बजेट व्यवस्था गरी पुरातत्व विभागसँग सहकार्य गर्ने तयारी गरेको उनले जानकारी दिए ।
पुरातत्व विभागका अनुसार प्रागैतिहासिक मानव सभ्यताको विकास मुख्यतः नदीकिनार, उपत्यका, गुफा तथा खुला मैदान क्षेत्रमा भएको मानिन्छ । लेखन प्रणालीको विकास हुनुअघि मानव समुदाय पानीका स्रोत र सुरक्षित वासस्थानको खोजी गर्दै घुमन्ते जीवनयापन गर्ने गर्थे ।
कुसुम क्षेत्र र आसपासबाट प्राप्त प्राचीन पाषाण औजारहरूले राप्तीसोनारी क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्वलाई नयाँ ढङ्गले उजागर गरेको भन्दै स्थानीयवासीले समेत यसको थप खोज, अनुसन्धान र संरक्षणमा जोड दिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार