Listen LIVE

नेपालगञ्ज नाकाबाट पहिलो त्रैमासमा ४ अर्ब बढी राजस्व संकलन

नेपालगञ्ज : पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाको रुपमा रहेको नेपालगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०८२–८३ को सुरुको तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्ष २०८१–८२ को सोही अवधीमा चार अर्ब ४० करोड रुपियाँ राजस्व सङ्कलन भएको जनाउँदै नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले चालु आवमा राजस्व सङ्कलनमा सात करोड रुपैयाँभन्दा बढि वृद्धि भएको बताए ।

उनले जेनजी ओन्दोलनका कारण केही दिन नाका बन्द र राजस्व सङ्कलन प्रभावित नभएको भए अझै राजस्व सङ्कलन बढि देखिने थियो बताए ।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको सुरुका तीन महिनामध्ये साउनमा लक्ष्यको ७५ प्रतिशत, भदौमा ७० प्रतिशत र असोजमा ८८ प्रतिशत राजस्व सङ्कलन भएको छ भने गत आवको सोही अवधीको साउनमा ७३ प्रतिशत, भदौ र असोजमा ६६ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार यस वर्ष साउनमा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा एक अर्ब ३५ करोड १० लाख नौ हजार र असोजमा एक अर्ब ७४ करोड १६ लाख पाँच हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । राजस्व सङ्कलनमा सबैभन्दा बढि योगदान आयाततर्फ चामल, मकै, चिनी  र फलामका विभिन्न बस्तुहरुको रहेको छ । यी वस्तुहरुको आयात चालु आवमा विगतभन्दा बढि र अत्यधिक मात्रामा भएको पाइएको छ । यसैगरी, निर्यातमा जडिबुटी र जडिबुटी जन्य विभिन्न वस्तुहरुको योगदान रहेको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए ।

गत केही वर्षदेखि लक्ष्य अनुसारको राजस्व सङ्कलन हुननसक्नुमा अवैध आयात निर्यात, चोरी, तस्करी मुख्य कारण रहेको स्थानीय उद्योगी व्यवसायीहरुको भनाइ छ ।

नेपालगञ्ज नाकाबाट आयात हुने वस्तुहरुमा डिजेल, पेट्रोल, एलपी ग्यास, कोइला, पोलिथिन दाना, तेल, मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, चामल र मकै लगायतका खाद्यान्न, माछा, एमएस ब्लेट तथा विद्युतीय सामग्री प्रमुख रहेका छन् ।

सोही प्रकारले खोटो, रोजिन, जडीबुटी, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता सामान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।

प्रतिक्रिया