नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकास्थित खडैचा प्रहरी चौकीले ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा हालै प्राप्त गरेको छ । प्रहरी चौकी खडैचाले लामो प्रयासपछि भवन रहेको जमिन आफ्नै नाममा ल्याउन सफल भएको जनाएको छ ।
खडैचा प्रहरी चौकीका इन्चार्ज असई कुलबहादुर विकका अनुसार तीन दशकअघि प्रहरी चौकीको भवन निर्माण भए पनि जग्गाधनी पुर्जा प्राप्त हुन सकेको थिएन । हाल गरिएको पहल र निरन्तर प्रयासपछि भवन रहेको जमिन प्रहरी चौकीको नाममा कायम भएको उनले बताए ।
उनले लामो समयदेखि रहेको जग्गाधनी पुर्जाको समस्या समाधान भएको बताउँदै अब प्रहरी चौकीको भौतिक पूर्वाधार निर्माणका लागि सहज हुने जानकारी दिए ।
असई विकका अनुसार ३० वर्षअघि स्थानीय समाजसेवी लच्छु अहिरले प्रहरी चौकी निर्माणका लागि दुई कठ्ठा सात धुर जग्गा उपलब्ध गराउनुभएको थियो । तर, विभिन्न कारणले उक्त जग्गाको स्वामित्व प्रहरी चौकीको नाममा हस्तान्तरण हुन सकेको थिएन ।
जग्गाधनी पुर्जा प्राप्त भएसँगै अब प्रहरी चौकीमा आवश्यक भौतिक संरचना निर्माणको बाटो खुलेको छ । जमिन आफ्नै नाममा नहुँदा भवन विस्तार तथा अन्य संरचना निर्माण गर्न कठिनाइ हुँदै आएको थियो । अब सेवा प्रवाहमा समेत सहजता आउने प्रहरी कर्मचारीले बताएका छन् ।
आफूले कार्यभार सम्हालेपछि जग्गा प्राप्तिका लागि पहल सुरु गरेको बताउँदै असई विकले भने, 'अथक प्रयास र मिहिनेतपछि जग्गा प्रहरी चौकीको नाममा ल्याउन सफल भएका छौँ । जमिन प्राप्तिसँगै भौतिक संरचना निर्माणको बाटो खुलेको छ र सेवा प्रवाहमा समेत टेवा पुग्ने विश्वास छ ।'
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार