नेपालगञ्ज : पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ अर्ब ७ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयले यो वर्षको पहिलो चौमासिकमा ६ अर्ब ७ करोड ५६ लाख ३ हजार रुपैयाँ राजस्व असुली गरेको सो कार्यालयका सुचना अधिकारी पूर्ण प्रसाद लम्सालले बताए । उनले चालु आवको वार्षिक लक्ष्यको २२.३६ प्रतिशत मात्रै पहिलो चौमासिकमा राजस्व सङ्कलन गर्न सकिएको जनाउँदै सो कार्यालयले पहिलो चौमासिकमा निर्धारित लक्ष्य प्राप्त गर्न नसकेको प्रष्ट पारे ।
नेपालगञ्ज भन्सारको तथ्याङ्क अनुसार, गत साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत र कात्तिकमा ७६.४४ प्रतिशत मात्रै राजस्व असुली भएको छ । नेपालगञ्ज भन्सार कार्यालयले चालु् आर्थिक वर्ष २०८१–८२ का लागि गत आवको तुलनामा १ अर्ब घटाएर लक्ष्य निर्धारण गरेको थियो । तर सो लक्ष्य पनि पूरा हुने देखिएको छैन ।
गत आर्थिक वर्ष २०८०–०८१ का लागि २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण गरिएको थियो भने चालु आर्थिक वर्षका लागि २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य निर्धारण गरिएको छ । सो कार्यालयले यसअघिका केही आर्थिक वर्षहरुमा पनि निर्धारण गरिएको लक्ष्य हासिल गर्न नसकेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९–८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएको नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यको ६२.०५ प्रतिशत अर्थात १८ अर्ब १९ करोड मात्रै राजस्व सङ्कलन गर्न सफल भएको थियो ।
यसैगरि आर्थिक वर्ष २०७८–०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा ८८.५३ प्रतिशत अर्थात् २२ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको थियो । विगत १२ वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालगञ्ज भन्सार कार्यालयले चार आर्थिक वर्षमा लक्ष्य हासिल गर्न नसकेको देखिन्छ ।
आर्थिक वर्ष २०७७–०७८ मा १७ अर्ब बढी लक्ष्य राखिएकोमा २१ अर्ब बढी राजस्व असुली भएपछि त्यसपछिको आर्थिक वर्षहरुमा लक्ष्य ह्वात्तै वृद्धि गरिएको थियो । आर्थिक वर्ष २०७८–०७९ मा ७ अर्बभन्दा बढी बढाएर लक्ष्य २५ अर्ब बढी पुर्याएपछि भन्सारले लक्ष्य हासिल गर्न सकेको थिएन । सो वर्षमा लक्ष्य हासिल गर्न नसके पनि त्यसपछिको आव २०७९–०८० मा ४ अर्ब बढी थपेर लक्ष्य २९ अर्ब पुर्याइएको थियो ।
लक्ष्य निर्धारण गर्दा सही विश्लेषण गरेर निर्धारण नगरिएको हुँदा विगतका केही वर्षदेखि लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन भइरहेको नेपालगञ्ज भन्सारका कर्मचारीहरु बताउँछन् । (गोरखापत्रबाट)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार