सुर्खेत : प्रदेश अस्पताल सुर्खेतमा थ्री टेस्ला (६४ च्यानल) एमआरआई मेसिन सञ्चालनमा ल्याइएको छ । यसअघिदेखि परीक्षणका रूपमा सेवा सुरु भए पनि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सो मेसिनको औपचारिक उदघाटन गरे । मुख्यमन्त्री कँडेलले प्रदेश अस्पताल सबैको प्राथमिकतामा परेकोले लगानी पनि त्यस अनुसार आकर्षित भएको बताए ।
उनले आउँदा दिनमा अस्पतालले दिने सेवा पनि सुधार हुनुपर्ने बताए । प्रदेश अस्पतालको सेवा सुविधा सरल र सहज बनाएर जनविश्वास बढाउनुपर्ने पनि उनले बताए । अस्पतालको सेवालाई फलदायी र फराकिलो बनाउने प्रदेश सरकारको ध्यान केन्द्रित हुने जानकारी दिँदै उनले अस्पतालको स्तरवृद्धिका लागि कार्ययोजना बनाउन कार्यदलमार्फत काम भइरहेको उल्लेख गरे ।
अस्पतालको विकासका लागि गठित कार्यदलले दिएको सुझाव र तथ्यका आधारमा सोही अनुसार निर्णय लिइने उनको भनाइ थियो । सो अवसरमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले एमआरआई मेसिनको नियमित प्रयोग हुने अपेक्षा राख्दै यहाँबाट रिफर हुने दर आउँदा दिनमा घट्ने विश्वास व्यक्त गरे । यसअघि एमआरआई मेसिन नहुँदा स्वास्थ्य सेवा लिन नेपालगञ्ज, काठमाडौँ तथा भारतको लखनउ जानुपर्ने बाध्यता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार