नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्ज नाकाबाट मात्रै एक वर्षमा करिब ६ अर्ब रुपैयाँको चामल आयात गरिएको छ । गत आर्थिक वर्ष ०८१/८२ मा नेपालगञ्ज नाकाबाट पाँच अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको ६ करोड ७६ लाख ८३ हजार किलो चामल आयात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले अघिल्लो आव ०८०/८१ मा चार अर्ब १२ करोड २६ लाख ६९ हजार रुपैयाँ बराबरको तीन करोड ३७ लाख ३४ हजार किलो चामल आयात भएको बताउँदै गत आवमा अघिल्लो आवको तुलनामा ३०.३८ प्रतिशत अर्थात् एक अर्ब ७९ करोड ९७ लाख ६४ हजार रुपैयाँ बढीको चामल आयात भएकोे बताए ।
उनले चामलको आयात बर्सेनि बढ्दै गएको पाइएको बताउँदै जबसम्म आफ्नै देशमा उत्पादन वृद्धि गरिँदैन तबसम्म चामलको आयात यस्तै रहने बताए ।
चामलका लागि मात्रै वर्षमा यो नाकाबाट ६ अर्ब रुपैयाँ विदेश जानु स्थानीय अर्थतन्त्रका लागि निकै नराम्रो सङ्केत रहेको बताउँदै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले त्यसतर्फ सबै सम्बन्धित निकाय चनाखो हुनुपर्ने बताए ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले धान उत्पादनका लागि सबैभन्दा राम्रो मानिने बाँके र बर्दिया जिल्लामा रहेको नाकामै वर्षमा ६ अर्ब रुपैयाँ चामल आयातमा बाहिर जानु निकै दुःखद भएको बताए ।
यसैगरी, सोही नाकाबाट गत आवमा दुई अर्ब १९ करोड ४४ लाख ८१ हजार मूल्य बराबरको पाँच करोड १० लाख ८९ हजार २८१ किलोग्राम मकै आयात भएको छ । अघिल्लो आवमा दुई अर्ब चार करोड १८ लाख १५ हजार मूल्यको पाँच करोड २४ लाख ५५ हजार ३२० किलोग्राम मकै आयात भएको थियो ।
भन्सार कार्यालयका अनुसार सोही प्रकारले गत आवमा १३ अर्ब ८१ करोड ८५ लाख ६३ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ५९ करोड ५८ लाख ९१ हजार रुपैयाँ कम मूल्य बराबरको डिजेल आयात भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । अघिल्लो आवमा १४ अर्ब ४१ करोड ४४ लाख ५४ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो ।
खाना पकाउने एलपी ग्यास आयातमा पनि वृद्धि भएको कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा पाँच अर्ब ४१ करोड ९० लाख २० हजार मूल्य बराबरको चार करोड ९४ लाख ३० हजार ९६० किलोलिटर खाना पकाउने एलपी ग्यास आयात भएको प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार अघिल्लो आवमा चार अर्ब ६४ करोड ४२ लाख ६५ हजार मूल्य बराबरको चार करोड ५५ लाख २५ हजार ११० किलोग्राम एलपी ग्यास आयात भएको थियो ।
भारतबाट आयात हुने वस्तुमध्ये पेट्रोल चौथो नम्बरमा परेको छ । गत आवमा चार अर्ब ८२ करोड ३७ लाख आठ हजार मूल्य बराबरको ५५ हजार ४०८ किलोलिटर पेट्रोल आयात भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार