Listen LIVE

छात्रवृत्ति नपाउँदा मुक्त कमलरीको पढाइ सङ्कटमा

दाङ : सरकारले मुक्त कमलरीका लागि दिँदै आएको सेवा सुविधा कटौती गरेपछि छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरीहरू अहिले बिचल्लीमा परेका छन् । 

अभिभावकविहीन र अतिविपन्न परिवारका मुक्त कमलरीहरू लमही नगरपालिका–३, नर्तीस्थित लावाजुनी छात्रावासमा बसेर अध्ययन गर्दै आएका छन्, तर सरकारले प्रदान गर्दै आएको सेवा सुविधा कटौती गरेपछि त्यहाँ बस्ने मुक्त कमलरीहरूलाई पढ्न र खान गाह्रो भएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हीरामोती चौधरीले जानकारी दिइन् ।

“छात्रावासमा रहेका बहिनीहरूलाई धेरै समस्या छ,” अध्यक्ष चौधरीले भनिन, “हाम्रो संस्थासँग स्रोत छैन, केही दातृ निकायले न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरे पनि रासनपानीको समस्या छ ।” उनका अनुसार मुक्त कम्लरीहरुले आफन्तको सहयोगमा चामल, दाल ल्याएर भए पनि छात्रावासमा बसेर अध्ययन गर्दै आएका छन् ।

विगत तीन वर्षदेखि सरकारले मुक्त कमलरीका लागि दिँदै आएको छात्रवृत्ति र छात्रावासमा बस्नेहरूको सेवा सुविधा बन्द गरेको उनले बताइन् । यसअघि सरकारले आधारभूत तहका लागि १५०० रुपैयाँ, माध्यमिक तहका लागि १८०० रुपैयाँ, प्लस टुका लागि ५ हजार रुपैयाँ र स्नातक तहसम्मका लागि १० हजार रुपैयाँसम्म छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो । त्यस्तै, छात्रावासमा बस्नेका लागि मासिक चार हजार रुपैयाँ सहयोग दिइन्थ्यो, तर अहिले सबै कटौती गरिएको उनको भनाइ छ ।

लावाजुनी छात्रावासमा बसेर अध्ययन गर्दै आएकी तुलसीपुर उपमहानगरपालिका–११, सुकौरालकी कृति चौधरी लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गर्दै आएकी छन् । “प्लस टुसम्म छात्रवृत्ति पाइयो, अहिले भने पाइँदैन,” उनले भनिन, “छात्रवृत्ति रोकिएपछि पढाइलाई निरन्तरता दिन कठिन भएको छ । बस्नका लागि छात्रावास भए पनि अन्य सबै खर्च आफैंले जोहो गर्नुपर्छ ।”

त्यस्तै, तुलसीपुरकी आशा चौधरीको उनी उस्तै पीडा छ । बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत आशाले भनिन “सरकारले छात्रवृत्ति र छात्रावास सुविधा रोकेपछि पढाइमा समस्या परेको छ ।” उनका अनुसार हाल लावाजुनी छात्रावासमा १० जना मात्र बसिरहेका छन् । “चार वर्षअघिसम्म यहाँ १३१ जना विद्यार्थी अध्ययन गथ्र्याैं,’’ उनले भनिन, ‘‘अहिले १० जना मात्र भएका छौं ।”  

अभिभावकविहीन र आर्थिक रूपमा कमजोर मुक्त कमलरीका लागि २०६८ सालमा यो छात्रावास स्थापना गरिएको हो । तत्कालीन जिल्ला विकास समिति, प्लान नेपाल र नायफ नेपाल संस्थाको सहयोगमा दुईतले भवन निर्माण गरिएको थियो । भवनमा १४ कोठा छन् र पश्चिम तराईका मुक्त कमलरीलाई राखेर पढ्ने व्यवस्था हुँदै आएको छ । मुक्त कमलरी विकास मञ्चका अनुसार २०८० सालसम्म ६८ जना मुक्त कमलरी छात्रावासमा बस्दै आएका थिए ।

यतामुक्त कमलरीलगायत अतिविपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको पढाइका लागि सात करोड ५० लाख रुपियाँ बजेट छुट्याइएको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सनाले जानकारी दिए । “म मन्त्री भएर आएपछि मुक्त कम्लरी, अतिविपन्न तथा सीमान्तकृत समुदायका बालबालिका र छात्रावासका लागि छात्रवृत्ति  छुट्याएको छु,” मन्त्री तिमिल्सनाले भने, “यदि मुक्त कमलरीले पाएका छैनन् भने म बुझेर पठाउने व्यवस्था गर्छु ।”

मुक्त कमलरी विकास मञ्चका अनुसार लुम्बिनी प्रदेशमा मात्र स्नातकदेखि स्नातकोत्तर तहसम्म ८५ जना मुक्त कमलरी अध्ययनरत छन् । सुदूरपश्चिम प्रदेशमा ४२ जना स्नातक तहमा अध्ययनरत छन् । यीसहित देशभर एक हजार २७४ जना मुक्त कमलरी विद्यालय तथा क्याम्पसमा अध्ययनरत छन् । लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर गरी पाँच जिल्लामा करिब १२ हजार ७६९ जना मुक्त कमलरी रहेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया