Listen LIVE

बन्यजन्तुबाट प्रभावित ६ हजार बढीलाई रकम उपलब्ध गराइने

नेपालगञ्ज : लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले बर्दिया जिल्लाका वन्यजन्तु प्रभावित क्षेत्रका ६ हजार बढी स्थानीय नागरिकको क्षति बिमा गरेको छ । मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयसँगको समन्वयमा बर्दियाका ११ वटा सामुदायिक वन उपभोक्ता समूह मध्येबाट वन्यजन्तु अति प्रभावित क्षेत्रका ६ हजार ७५६ जना स्थानीय नागरिकको क्षति बिमा गरिदिएको हो ।

लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्काले बर्दियाका ११ वटा सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत वन्यजन्तु अति प्रभावित क्षेत्रका ६ हजार ७५६ स्थानीय नागरिकहरूको क्षति बिमाका लागि मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयसँग सम्झौता गरेको बताए । उनका अनुसार आगामी आर्थिक वर्ष ०८१–८२ बाट यो बिमा लागु हुनेछ ।

“जङ्गली जनावरबाट हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ११ वटा सामुदायिक वन उपभोक्ता समूहका वन्यजन्तु अति प्रभावित क्षेत्रका ६ हजार ७५६ जना स्थानीय नागरिकको वन्यजन्तुबाट हुने सबै किसिमको क्षति बिमा गरेका छौँ ।” अधिकृत खड्काले भने, “यसबाट वन्यजन्तुको आक्रमणमा परी घाइते हुने व्यक्ति तथा मृत्युसमेत हुने नागरिकका परिवारलाई राहत मिल्नेछ ।”

उनका अनुसार वन्यजन्तुको आक्रमणमा परी हुनसक्ने सबै किसिमको क्षति बिमा गरिएको हो । त्यसैगरी कुनै नागरिकको मृत्यु भइहालेमा मन्त्रालयको तर्फबाट आठ लाख रुपैयाँ र इन्स्योरेन्स कम्पनीको तर्फबाट दुई लाख रुपैयाँ गरी दश लाख रुपैयाँ मृतकको परिवारलाई उपलब्ध गराइनेसमेत भएको छ ।

क्षति बिमाले वन्यजन्तुबाट घाइते नागरिकको उपचार खर्चमा राहत मात्र नभएर मानव वन्यजन्तुबिच समयसमयमा हुने द्वन्द्वलाई समेत न्यूनीकरण गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले र राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयका प्रमुख नवीन शर्मा पौडेलबिच आगामी आर्थिक वर्षबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको खड्काले जानकारी दिए ।

मानव वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न पर्खाल 

त्यसैगरी बर्दियाकै मध्यवर्ती क्षेत्रमा रहेका स्थानीय नागरिकलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन तथा घरपालुवा पशुपन्क्षीको हानि नोक्सानी हुन नदिनका लागि जङ्गलक्षेत्र र मानववस्तीबिच पर्खाल लगाइएको छ ।

वन्यजन्तुबाट हुनसक्ने मानव तथा पशुपन्क्षीको आक्रमणलाई न्यूनीकरण गर्नका लागि मध्यवर्ती क्षेत्रभित्र रहेका मानववस्ती र जङ्गलको बिचमा पर्खाल लगाइएको शाखा अधिकृत केशव खड्काले जानकारी दिए ।

“विगत तीन वर्षदेखि यो योजना निरन्तर चलिरहेको छ, यो आर्थिक वर्षसम्ममा करिब १४ सय मिटर लम्बाई भएको अग्लो पिल्लरसहितको आरसीसी पर्खाल निर्माण भइसकेको छ ।” खड्काले भने, “मन्त्रालयबाट यो चालु आर्थिक वर्षमा २० लाख रुपियाँ बजेट विनियोजित भएको थियो, करिब ९ किलोमिटर लामो पर्खाल बनाउने योजना हो, आर्थिक वर्ष ०८५–८६ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।”

मानववस्ती र जङ्गलको बिचमा लगाइएको पर्खालले मानव तथा वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण हुने आशा गरिएको उनले बताए । पर्खालले वन्यजन्तुबाट हुन सक्ने मानव तथा घरपालुवा पशुपन्क्षीलाई हुने आक्रमणमा कमी मात्रै नभएर मानवबाट वन्यजन्तुमाथि हुने आक्रमणसमेतमा न्यूनीकरण हुने उनको भनाइ छ ।

प्रतिक्रिया