नेपालगञ्ज : पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल नेपालगञ्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमाबापतको रकम नपाउँदा बिरामीको उपचारमा समस्या आउन थालेको जनाएको छ । सरकारको स्वास्थ्य बिमा बोर्डले अस्पताललाई हालसम्म भुक्तानी गर्नुपर्ने १० करोड रुपियाँ भुक्तानी नगर्दा समस्या आएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले बताए ।
उनका अनुसार बिमा बोर्डले अस्पताललाई पठाउनुपर्ने गत आर्थिक वर्ष २०८०–८१ को वैशाख, जेठ र असार महिनाको चार करोड रुपैयाँ र चालु आव २०८१–८२ को साउनदेखि पुससम्मको करिब ६ करोड रुपियाँ गरी १० करोड रुपैयाँको भुक्तानी रोकिएको छ ।
अस्पतालले बोर्डबाट हालसम्म पाउनुपर्ने बिमाबापतको करिब १० करोड रुपैयाँ नपाउँदा बिरामीको उपचार प्रभावित भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताए । स्वास्थ्य बिमाका कारण अस्पतालमा बिरामीको चाप बढे पनि बिमाको रकम भुक्तानी नपाउँदा अस्पताल चलाउन समस्या भइरहेको उनले बताए । बिमाबापतको रकम भुक्तानी नपाउँदा औषधी, केमिकललगायत सामान ढुवानीकर्तालाई भुक्तानी दिन नसकेको बताउँदै उनले ढुवानीकर्ता (सप्लायर्स) ले नियमितरूपमा आवश्यक सामान उपलब्ध गराउन नसकेको बताए ।
सरकारले स्वास्थ्य बिमा लागु गर्दा गरिब तथा विपन्न समुदायलाई राहत मिलेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले बताए । उनले बिमा लागु गरिएपछि अस्पतालमा आएर छुट माग्नेहरू पनि घट्दै गएका बताए ।
बिमा बोर्डले वार्षिक तीन हजार पाँच सय रुपैयाँमा स्वास्थ्य बिमा गराएबापत परिवारका पाँच सदस्यलाई एक लाख रुपैयाँ बराबरको उपचार सुविधा दिँदै आएको छ । अस्पतालले स्वास्थ्य बिमासम्बन्धी छुट्टै काउन्टर राखेको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई अस्पतालले व्यवस्थित गर्दै लगेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार