नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबिच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन्न जिल्लाका कारागारमा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विवाद र झडपमा संलग्न कैदीलाई पश्चिम नवलपरासीको बर्दघाट कारागार, दाङको तुलसीपुर र घोराही कारागार, रूपन्देही र कपिलवस्तु कारागारमा चार–चार जनाका दरले गरी २० जनालाई स्थानान्तरण गरिएको हो ।
अन्य जिल्लाका कारागारमा सरुवा गरिएपछि नौबस्ता कारागारको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाको अवस्था बुझ्न कारागार पुगेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीले कैदीहरूबिचको विवाद समाधानका लागि धेरै प्रयास गरिए पनि सहमति हुन नसकेपछि कारागार विभागको निर्णय अनुसार उनीहरूलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको बताए ।
उनका अनुसार हाल कारागारको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ ।
नौबस्ता कारागार प्रशासनका अनुसार बी–ब्लकमा रहेका कैदी ओमप्रकाश अवस्थीलाई आन्तरिक सरुवा गरी डी–ब्लकमा स्थानान्तरण गरेपछि अन्य कैदीबन्दीमा असन्तुष्टि देखिएको थियो। सोही विषयलाई लिएर कैदी समूहबिच विवाद चर्किँदै जाँदा झडप र हातपात भएको हो ।
स्थिति बिग्रिँदै गएपछि करिब ३५ देखि ४० जनाको समूहले कारागारको च्यानल गेटभित्रबाट ढोका बन्द गरी होहल्ला तथा विरोध प्रदर्शन गरेका थिए भने अर्को करिब २० देखि २५ जनाको समूह बाहिर बसेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर तथा चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले तत्काल घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको थियो। सुरक्षाकर्मीहरूले कैदीबन्दीलाई सम्झाइबुझाइ गरी स्थिति नियन्त्रणमा ल्याएका थिए ।
हाल नौबस्ता कारागारको अवस्था पूर्णरूपमा सामान्य रहेको र बाँकी कैदीबन्दीलाई सुरक्षित ब्लकमा राखिएको कारागार प्रशासनले जनाएको छ । यस्ता घटना दोहोरिन नदिन निगरानी थप कडा पारिएको प्रशासनले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार